जो समाचार सुनेर बने खेलाडी

जो समाचार सुनेर बने खेलाडी


झण्डै २५ वर्षअघि उनले बेलुका ८ बजेको रेडियो नेपालमा यस्तो समाचार सुने – ‘साफ गेम खेल्न बक्सिङका मानबहादुर भण्डारी श्रीलंका जाँदै ।’

आफूले चिनेको गाउँले दाइ, नेपालको झण्डा बोकेर देशका लागि बक्सिङ खेल्न श्रीलंका जान लागेको खबरले उनलाई एकचोटी आश्चर्यचकित तुल्यायो, र गर्वित पनि । आश्चर्यमा यसकारण परे कि मानबहादुर दाइ बक्सिङ खेल्न विदेश जाँदैछन् । अनि गर्वित यसकारण भए कि आफ्नै गाउँको दाइ नेपालको प्रतिनिधि भएर विदेशी भूमिमा बक्सिङ खेल्न जाँदैछन् । उनले सोचे– ‘मानबहादुर दाइले विदेशमा गएर जिते भने त नेपालका जनता कति खुशी होलान्, अनि सरकारले पनि भव्य सम्मान गर्ला ।’ रातभर यस्तै अनेक सम्झिए उनले ।

अनि त्यही दिन सोचे अनि आफ्नो लक्ष्यलाई मूर्त रुप दिलाए । सिन्धुपाल्चोकको साविक पीपलडाँडा गाविस–३ (हाल चौतारा साँगाचोकगढी नगरपालिका–६)का प्रविण बस्नेतले– ‘म पनि एउटा राम्रो खेलाडी भएर देशको नाम संसारमा चिनाउँछु ।’ अनि उनले त्यसै दिन संकल्प पनि गरे । त्यो पूरा गररै छाड्ने ।

स्वभावले हक्की, कसैसँग नडराउने तर इमान्दार र कामप्रति जिम्मेवारी बोध भएका उनै बस्नेत अहिले राष्ट्रियस्तरमै कराँते खेलमा आफ्नो कौशल देखाइरहेका छन् । ‘समाचार सुनेपछि मभित्र एउटा छुट्टै उत्साह बढ्यो जसकारण अहिले यो अवस्थासम्म आइपुगेको छु,’ प्रविणले भने, ‘लक्ष्य भेट्न अझै धेरै गर्नु छ, म कतै विचलित हुने छैन ।’ उनी खेल–जीवन सुरु गरेदेखि अहिलेसम्म निकै चुनौतीका पहाड चढेर यो अवस्थासम्म आइपुगेको बताउँछन् ।
आजभन्दा ३३ वर्षअघि साविक पीपलडाँडा–३ मा भक्तकुमारी र गणेशबहादुरको कोखबाट जन्मिएका प्रवीण अहिले नेपाल क्योकुशिन सेइशिन (काइकन कराते संघ)को सचिव छन् । सामान्य खेलस्तरबाट खेलकुदको मूल नारालाई पछ्याउँदै खेलकुदप्रति नै तन, मन, वचनले समर्पित छन् उनी । विकास, अनुशासन र गतिशीलतालाई मूल मर्म मानेर अहोरात्र नेपालको खेलकुदलाई उचाईंमा पु¥याउन तल्लीन समेत छन् । भन्छन्, ‘देशको नाम उचाईंमा पु¥याउन कुनै कसुर बाँकी राख्दिनँ, किनकि मेरो नशा–नशामै खेलकुद बगिरहेको छ ।’

रेडियोमा समाचार सुनेदेखि खेलकुदको ‘भूत’ चढेर जानी–नजानी कराँते खेलमा उनी हामफालेका थिए । विद्यार्थी जीवनमै खेलकुदप्रति चाह बढेपछि उनलाई कहिले गएर खेलौँ भन्ने हुन्थ्यो । समाचार सुनेर खेलाडी हुने अनि राष्ट्रको नाम चम्काउने ध्याउन्नैमा उनको दिन मात्रै हैन आधा रात पनि बित्थ्यो । खेलकुदको चाहना दिनहुँ बढ्दै गयो तर, गाउँमा जन्मेकाले भन्नेवित्तिकै पूरा हुने स्थिति थिएन । त्यतिबेला उनलाई गाउँले जीवन नै खेलकुदमा लाग्ने रहरको बाधक बन्यो । मनमै सबै कुरा लुकाउन बाध्य बने ।

विद्यालय जीवन सकियो । ०५६ सालमा एसएलसी दिए प्रवीणले । उनले विद्यार्थी जीवनको मात्रै हैन वास्तविक जीवनकै ‘आइरन गेट’ पार गरे । जब काठमाडौं पुगेर उनले बिहान कराते खेल्ने, दिउँसो काम गर्ने र बेलुका कलेज पढ्ने गर्न थाले । ‘त्यहीँबाट सुरु भयो मेरो खेल जीवन’, उनी सम्झिन्छन्, ‘खेलप्रतिको लगावकै कारण मैले ६० सालमै १ डान र ६३ सालमा २ डान प्राप्त गरें ।’ प्रवीण अहिले ३ डनका खेलाडी हुन् ।

‘निकै संघर्ष गरेँ, यो अवस्थासम्म आइपुग्न,’ उनी भन्छन्, ‘आर्थिक चुनौती उस्तै थियो, कलेज पनि जानै पर्ने अनि काम पनि गर्नैपर्ने ।’ खेलुकद, काम र पढाईलाई एकै साथ निरन्तरता दिन निकै कठिन हुने गरेको यथार्थ उनी सुनाउँछन् ।

करातेमा धेरै प्रकारका खेलहरू छन् । उनले क्योकुशिन कराते रोजेर खेल जीवनमा प्रवेश गरे । यो खेल खेल्दा कुनै पनि सेफ्टी जस्तै हातमा पन्जा, टाउकोमा हेडगर्ड, चेस्ट प्याड प्रयोग गर्न पाइँदैन । सुरक्षाको हिसाबले निकै खतरा मानिन्छ । ‘साँच्चिकै बलियो र आत्मविश्वाश बढाउन यो गेमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ’, उनी भन्छन् ।

प्रवीणले हालसम्म बीस वटा राष्ट्रिय खेलमा सहभागी भएर १५ पदक आफ्नो नाममा दर्ता गराइसकेका छन् । उनले राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १० वटा गोल्ड मेडल र ५ वटा सिल्भर मेडल पाएका छन् । ‘म यसलाई राम्रो उपलब्धि मान्छु,’ उनी भन्छन्, ‘खेलकुदमा सक्रिय रहन र थप मेहनतका लागि यस्ता खेलले मलाई प्रेरणा दिएको छ ।’ त्यसो उनी नेपालको तर्फबाट अन्तराष्ट्रिय खेलमा पनि सहभागी भइसकेका छन् । सन् २००५ मा बंगलादेशमा भएको खुला वेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । त्यतिबेला नेपालले गरेको त्यो उत्कृष्ट प्रदर्शन थियो ।

उनलाई लाग्छ,– खेल क्षेत्रमा नलागेको भए उनले यत्तिको प्रतिष्ठा, मानसम्मान पाउने थिएनन् । अनि समाजले अहिले गरेको विश्वास सायद हुँदैनथ्यो होला । तर, यही क्षेत्रमै लागेको कारण उनलाई एउटा दुःख भने छ । ‘पढाइलाई प्लस टु बाट अगाडि बढाउन नपाएकोमा । ‘खेल क्षेत्रमा व्यस्त भएकै कारणले पनि घर परिवारलाई पर्याप्त समय दिन पाएको छैन,’ उनी भन्छन्, ‘समय दिन नसकेर आफ्नो भूमिकाबाट चुके कि जस्तो लाग्छ ।’
अहिले नेपाल क्योकुशिन सेइशिन (काइकन कराते संघ)मा सचिब को जिम्मेवारीमा रहेका बस्नेत बालाजु डोजो प्रमुखको हैसियतले डोजोमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभियानमा छन् । उनी मुख्य निर्णायकको भूमिकामा राष्ट्रिय खेलमा समेत संलग्न छन् ।

अहिले पनि कराँतेलाई कतिपय ग्रामीण भेगमा झगडा गर्ने खेलका रुपमा मानिसहरुले लिने गरेका छन् । उनी कराते भन्ने बितिकै मान्छे पिट्ने झै झगडा गर्ने सम्झनु गलत हो भन्छन् । खेलकुदमा केही नपाए पनि आफ्नो शरिर स्वस्थ तन्दुरुस्त हुनेका साथै निरोगी हुने उनको तर्क छ । ‘इमान्दार, मेहनती, लगनशील र जिम्मेवारीबोध गर्नसके खेलकुदमा लागेर धेरै गर्न सकिन्छ,’ उनी भन्छन्, ‘विदेशी भूमिमा गएर खेल्दा नेपालको झण्डा बोक्न पाउनु, ओड्न पाउनु चानचुने हैन ।’ उनले करातें खेल आत्मरक्षाका लागि प्रयोग गर्न भने सकिने तर्क पोखे ।

आफैले अझै धेरै गर्न बाँकी गरेको उनी सुनाउँछन् । ‘म धेरै कुरा अझै सिक्दैछु,’ उनले भने, ‘आफू परिपक्व भएपछि खेलकुदको विकास र विस्तारमा अझै धेरै परिवर्तन गर्नेछु ।’ खेलकुदमा लागेर पनि यो देश र आफ्नो व्यक्तित्व विकासमा केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न उनी चाहन्छन् । आफ्नो अन्तिम साससम्म खेलकुदको विकास र विस्तारमा लागि पर्ने उनको सोचाई छ । उनी आफूले उत्पादन गरेका खेलाडीलाई अन्तर्राािष्ट्रय खेलसम्म पु¥याउन अभियानमा पनि छन् । आफूले अपुरो छाडेको कामलाई आफैले उत्पादन गरेको खेलाडीबाट प्राप्त होस् भन्ने बस्नेतको चाहना छ ।

आफू गाउँमा जन्मेकै कारण समयमै खेलकुदमा लाग्न नपाएको उनको गुनासो छ । त्यसैले होला आफू जन्मिएको जिल्ला, गाउँमा आफू परिपक्व भएपछि खेलकुदको विकासका लागि विभिन्न कामहरु गर्ने उनले योजना बनाएका छन् । ‘आफ्नै गाउँमा खेलकुदका कार्यक्रम गर्न सकिरहेको छैन, तर एकचोटी आफै संलग्न रहेर खेलाडी उत्पादनमा जोड दिन्छु ।’ उनले भने । खेलकुदलाई सधैं माया गर्ने र यसकै माध्यमबाट देशलाई संसारमा चिनाउने उनको यो लक्ष्य भने कहिल्यै फेरिने छैन ।

उनलाई पनि सरकारसँग गुनासो छ । उनी त भन्छन् गुनासो मेरो माबै हैन सम्पूर्ण खेलाडिको हो । उनको दृष्टिमा खेलकुदमा राजनीति हुनुहुँदैन । चाप्लुसी र चाकरी प्रथा अन्त्य हुनुपर्छ । राजनीति र चाकरी वा पहुँचवालाको पिठो बिक्दा क्षमतावान् प्रतिभाहरु ओझेलमा पर्ने गरेको उनको बुझाई छ । ‘राज्यले साँच्चिकै देशको लागि केही गर्छु आफ्नो देशलाई र झन्डालाई चिनाउने क्रममा दिन रात नभनी पसिना बगाएको हुन्छ त्यस्तो ब्यक्ति र उसको क्षमतालाई पहिचान गरी उचित मूल्यांकन गर्नुपर्छ,’ प्रवीण भन्छन्, ‘हाम्रोलाई भन्दा राम्रोलाई प्राथमिकतामा राखियो भने खेलकुदको विकास नजिकै छ, अनि खेलकुदबाटै समृद्ध नेपालको खाका पनि कोर्न सकिन्छ ।’

राष्ट्रकै लागि खेलकुदमा समर्पित प्रवीण आफूले पाएको सफलताको श्रेय परिवार र गुरुहरुलाई दिन्छन् । ‘मेरो यस सफलतामा महत्वपूर्ण भूमिका खेल्ने मेरो घर–परिवार हो,’ उनले थपे, ‘यो सफलतामा छुटाउन नहुने आदरणीय गुरु समिक महर्जन, अनि साथीभाई र आफन्त हुन् ।’

– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)