सहमतिका निम्ति दल-निरपेक्षता र युद्धका निम्ति दल-सापेक्षता-एस शाह

सहमतिका निम्ति दल-निरपेक्षता र युद्धका निम्ति दल-सापेक्षता-एस शाह


एउटा स्थानमा एक दिनभन्दा बढी नबस्ने दुईजना घुमन्ते -यायावर) सन्न्यासीहरू हिँड्दाहिँड्दै साँझ परेपछि दुईवटा अलग-अलग घरमा पाहुना बनेछन् । एउटा सन्न्यासीले आफ्नो मेजमानको घरमा खुदो (उखुको रस) मा पकाइएको भात खाएछ र अर्कोले चाहिँ गोरसका परिकार दूध, दही, नौनी, मही, कुराउनी सबै नै खान पाएछ । आफू बास बसेको घरबाट हिँडेर अलि टाढा पुगिसकेपछि एउटा चौतारीमा विश्राम गर्न बसेका ती दुईजना सन्न्यासीले आ-आफ्नो चाहना व्यक्त गरेछन् । चाहना व्यक्त गर्नेक्रममा एउटा सन्न्यासीले एक ठाउँमा उखु र धानको खेती गर्दै खुदो भात खाएर बस्ने निर्णय सुनाएछ भने अर्कोले चाहिँ नजिकै भैंसी पालेर बस्ने चाहना प्रकट गरेछ । आफ्नो साथीले भैंसी पालेको खण्डमा आफूले रोपेको धान र उखु चरिदिने छन् भन्ने आशङ्का गर्दै पहिलो साधुले भैंसीपालनको चर्को विरोध गरेछ । भैंसी पाल्ने योजना भएको साधुले उखुबारी र धानबारीमा बलियो बार नलगाए भैंसी र स्वयम् आफूलाई दोष दिन नपाउने र्सत राखेपछि दुईजना सन्न्यासीको बीचमा प्राणघाती युद्ध भएको थियो रे । काल्पनिक योजनाका उखु र काल्पनिक योजनाको भैंसीका निम्ति कुटाकुट गर्ने ती दुईवटा सन्न्यासीहरू र काल्पनिक गणतन्त्र तथा काल्पनिक प्रजातन्त्रलाई युद्धको कारण बनाएर लडिरहेका नेपाली काङ्गे्रस र माओवादीका बीचमा कुनै भिन्नता छैन । उखु रोप्नु र भैंसी पाल्नुभन्दा पहिले नै काल्पनिक योजनालाई मात्र खतरनाक मानेर आपत्ति प्रकट गर्ने ती काल्पनिक सन्न्यासीहरूझैं नेपालका संसद्वादी र माओवादीहरू विद्यमान राष्ट्रिय यथार्थको युद्ध नलडेर केवल काल्पनिक सम्भावनाका विषयमा लडिरहेका छन् । अहिलेको अवस्था ‘संसदीय प्रजातन्त्र’ र जनवादी गणतन्त्र’ दुईवटैको अस्तित्व नभएको अवस्था हो । किनकि राजतन्त्र विस्थापित हुनुको बाबजुद पनि दुईवटै पक्षको वैचारिक मान्यता स्थापित हुन सकिरहेको छैन । संविधान निर्माणका बारेमा भइरहेको अन्तरसङ्घर्ष नै आ-आफ्ना वैचारिक मान्यतालाई संविधानमा स्थापित गराउने प्रयत्नको प्रतिफल हो । ‘सेना समायोजन’का नाममा आफ्नो लडाकु सङ्गठनलाई वैधानिक शक्ति बनाएर यथावत् राखिरहन चाहने माओवादी र हतियारधारी लडाकुलाई माओवादीको नियन्त्रणबाट मुक्त नगरेसम्म प्रजातन्त्रको सम्भावना नदेख्ने संसदीय व्यवस्थावादीका बीचमा सहमति र एकता कायम हुनका निम्ति कुनै एउटाले आफ्नो दाहिने औंठा दान दिएर एकलव्य बन्नुपर्नेछ । सुधार्न र परिवर्तन गराउन सकिएला भन्ने अपेक्षा राखेर माओवादीलाई संसद्मा पुर्‍याउन इच्छुक भएका संसद्वादीहरूको रणनीतिक उद्देश्य र संसदीय पद्धतिलाई संसद्भित्रैबाट बदल्न वा अनुपयोगी सावित गर्न सकिनेछ भन्ने उद्देश्यबाट बाह्रबुँदे सहमति गर्न इच्छुक भएका माओवादीको विश्लेषण स्वयम् आफ्नै निम्ति चुनौती बन्न गएको देखिन्छ । किनकि बहस र छलफलको माध्यमबाट एक-अर्काको मान्यतालाई गलत सावित गर्न र परिवर्तन गर्न सक्ने क्षमता दुईवटैले देखाउन सकेका छैनन् ।

राजनीतिक मान्यता र आस्था भनेको रिस, इष्र्या र आक्रोशको दबाबमा स्वीकार गरिने विषय नभएर चिन्तन, अध्ययन र विश्लेषणका आधारमा मात्र आत्मसात् हुन सक्ने कुरा हो । संसदीय प्रजातन्त्र र साम्यवादको समावेशी संरचनाका रूपमा स्वर्गीय बीपी कोइरालाले ‘प्रजातान्त्रिक समाजवाद’ नै विश्वका धेरै देशको अध्ययन, अनुभव र आजीवनसम्मको चिन्तनमननबाट स्वर्गीय बीपीले तार्किक निष्कर्षमा पुर्‍याइसक्नुभएको ‘समाजवाद’को ‘स’ लाई पनि उच्चारणमा त्यागिसकेको नेपाली काङ्गे्रस एउटै रातमा माओवादीका मित्र र गणतन्त्रको समर्थक बन्नु न त सैद्धान्तिक विश्लेषणको परिणाम थियो न त माओवादीका वैचारिक प्रभावको परिणाम थियो, गाई र भैंसी आफ्नो पाडो र बाच्छो बोकेर हिँड्ने मानिसको पछाडि-पछाडि हिँडेझैं माओवादी नेता प्रचण्डलाई मात्र बोकेर हिँड्ने गिरिजाप्रसाद कोइरालाको पछिपछि माओवादीको सिङ्गो पार्टी हिँड्नेछ र कोइरालालाई बोकेर हिँड्ने नेताको गलत निष्कर्ष गलत सावित हुन ढिलो भएको मात्र हो ।

दलीय स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुन सक्नु नै आठदलीय एकताको महत्त्वपूर्ण र्सत हुनुपर्ने थियो र राष्ट्रिय एकता र स्थिरताका निम्ति यो तात्कालिक आवश्यकता मात्र नभएर दूरगामी महत्त्वको आवश्यकता पनि हो । नेपाललाई र्’धर्मनिरपेक्षता’ को भन्दा दलीय स्वार्थ निरपेक्षताको बढी आवश्यकता थियो र छ । किनकि नेपालमा राजनीतिक पूर्वाग्रहका कारणबाट पटकपटक धेरै नागरिक मारिएका छन् र धार्मिक पूर्वाग्रहबाट उत्पे्ररित भएर आजसम्म एकजना पनि मारिएको छैन । यो उदाहरणबाट नेपाली समाज नैर्सर्गिक रूपले नै सहिष्णुतावादी र धर्मनिरपेक्ष थियो र छ भन्ने पुष्टि हुन्छ । सर्वसहमतिको राष्ट्रिय सरकारको अर्थ दलीय स्वार्थ निरपेक्ष सरकार नै हुनसक्छ । घुमाउरो तरिकाबाट दल-निरपेक्ष सत्ताको आवश्यकतालाई स्वीकार गरिरहेका नेताहरूले कसको स्वार्थका निम्ति कुन घटनाबाट पाठ सिकेर धर्म-निरपेक्षताको आवश्यकता महसुस गरे ?