यस्तो छ टेलिकमको ग्राहक तान्ने योजना

यस्तो छ टेलिकमको ग्राहक तान्ने योजना


दूरसञ्चार क्षेत्रमा आफूलाई अग्रणी दाबी गर्दै आएको नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिने नीति टेलिकमले आफ्नो वार्षिक कार्यक्रममार्फत अघिसारेको छ । चालु आवमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको जनाइएको छ ।

उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिनका लागि कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरण गर्ने र यसनिम्ति करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सत्र प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप संस्थाले चालु आवमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र एक करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने छ ।

हालसम्म पुरानो प्रविधिमा आधारित ल्याण्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा (पिएसटिएन) मध्ये काठमाडौँमा १४ वटा तथा काठमाडौँ बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कुल एक लाख ३४ हजार लाइन क्रमिक रूपमा प्रतिस्थापन गर्दै लैजाने बताइएको छ । त्यसैगरी इन्टरनेट सेवाको माग बढ्दै गएकाले टेलिकमले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ ।

बताइएअनुसार टेलिकमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाई सञ्चालन गरेको छ । सबै सेवामा ग्राहकको गुनासो, इन्क्वारी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरल रूपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क कक्ष सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउने टेलिकमको योजना छ ।