चिनियाँ उपप्रधानमन्त्री वाङ आज साँझ काठमाडौ आउँदै

चिनियाँ उपप्रधानमन्त्री वाङ आज साँझ काठमाडौ आउँदै


चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट नेपाल आउने कार्यक्रम रहेको छ । चीनबाट ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । साँझ ६ बजेर १५ मिनेटमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । सो टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् ।

उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका छन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन । सुरक्षा र राजनीतिक मामिलामा पनि चीनको सहयोग बढ्दै गएको छ । चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङको नेपाल भ्रमणलाई महत्वपूर्णरुपमा लिइएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दुईपक्षीय सहयोग अभिवृद्धि गर्न चिनियाँ उपप्रधानमन्त्री नेपाल आउन लागेको बताए । उनले हामी चीनसँग सम्बन्ध विस्तार गर्न चाहेका छौ, पुनर्निर्माणमा चिनियाँ सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्याक्रम रहेको बताए । तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले सन् २०१२ जनवरीमा नेपाल भ्रमण गरेयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको भ्रमण भएको थिएन ।

सन् २०१६ अक्टोबर अन्तिम साता चिनियाँ राष्ट्रपतिको भ्रमण हुने भनिए पनि सरकारले आवश्यक तयारी गर्न नसक्दा भ्रमण रद्द भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत मार्चमा चीनको अनौपचारिक भ्रमणका क्रममा तथा भारतको गोवामा गत वर्ष अक्टोबरमा भएको ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग भेटी भ्रमणमा आउन अनुरोध गरेका थिए ।

चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्याक्रम रहेको छ । सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग सिंहदरबारमा चिनियाँ उपप्रधानमन्त्री वाङले द्विपक्षीय भेटवार्ता गर्ने छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शमौ ओलीलगायत नेतासँग पनि भेट गर्ने कार्याक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।