ठेक्काको टुङ्गो नलाग्दै हिटिङ पोखरीको शिलान्यास गरिएपछि…

ठेक्काको टुङ्गो नलाग्दै हिटिङ पोखरीको शिलान्यास गरिएपछि…


नेपाली खेलकुद क्षेत्रमा पहिलो पटक निर्माण हुन लागेको हिटिङ पौडी पोखरीको शिलान्यास प्रकरणले यतिबेला खेलकुद मन्त्रालयलाई नै तताएको छ । पोखरी निर्माणको लागि गत शुक्रबार आयोजित शिलान्यास समारोहमा सरिक भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पछि राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरूलाई ‘ठेकेदार नै तय नभई मन्त्रीबाट किन शिलान्यास गराइयो ?’ भनी प्रश्न गरेपछि हिटिङ पोखरी निर्माण प्रकरणले रोचक मोड लिएको हो ।

हिटिङ पौडी पोखरीका बारेमा सोधपुछ गर्ने क्रममा सचिव दाहालले ‘चाकरीको पनि सीमा हुन्छ, ठेक्का र ठेकेदारको पत्तो नभएको पौडी पोखरीको कसरी शिलान्यास भयो ?’ जस्ता शब्द प्रयोग गर्दै कर्मचारीलाई फट्कारेका थिए ।

मन्त्रालय सुत्रका अनुसार मन्त्रालयसँग छलफल नगरी सिधै मन्त्रीबाट उद्घाटन गर्न लगाइएको विषयमाथि सचिव दाहालले आपत्ति जनाएका थिए । ठेकेदारी प्रक्रिया पुरा गराएपछि शिलान्यास गरेको भए के हुन्थ्यो ? भन्ने प्रश्न गर्दै सम्बन्धित कर्मचारीमाथि उनी खनिएका थिए । तर, शिलान्यास समारोहमा आफै समेत उपस्थित सचिव दाहालले पहिले नै यो सवाल नउठाई मन्त्रीबाट शिलान्यास भइसकेपछि मात्र कि खेलकुदमा खैलाबैला मच्चाए भन्ने सवाल यतिबेला चासो र रहश्यको विषय बन्न पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषदले गत साउन २७ गते टेन्डरवाट चारवटा ठेकेदार कम्पनीको फाइनल गरेपछि युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीबाट हिटिङ पौडी पोखरीको शिलान्यास गराइएको थियो । पौडी पोखरीको शिलान्यास भए पनि निर्माण गर्ने एउटा ठेकेदार कम्पनीको फाइनल हुन दुई साता लाग्ने राखेप स्रोतले जानकारी गराएको छ । अन्तिम छनोट हुने कम्पनीले हिटिङ पौडी पोखरीको निर्माण गर्ने जिम्मेवारी पाउने छ ।

ठेकेदारको फाइनल नभई शिलान्यास गर्न मिल्ने–नमिल्ने सवालमा मन्त्रालयका एक अधिकारीले ठेकेदारको टुङ्गो लागे पनि नलागे पनि शिलान्यास गर्दा केही फरक नपर्ने जवाफ दिए । जसले कम मूल्यमा टेण्डर हाल्छ त्यसैलाई ठेक्काको जिम्मेवारी दिने भन्दै दुईसाता पछि पौडी पोखरीको निर्माणको कार्य आरम्भ गरिने ती अधिकारीले बताए ।

राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा ललितपुरको सातदोबाटोमा निर्माण हुने हिटिङ पौडी पोखरीको निर्माणमा अनुमानित ३३ देखि ३५ करोड लाग्ने राखेपले जनाएको छ । यो पौडी पोखरीको निर्माणसँगै नेपाली पौडी खेलाडीले बाह्रै महिना पौडीको अभ्यास गर्न पाउने बताइएको छ ।