यस्तो छ चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण कार्यक्रम

यस्तो छ चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण कार्यक्रम


पाकिस्तानको यात्रा सम्पन्न गर्दै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार अपरान्ह नेपालको औपचारिक भ्रमणमा नेपाल आइपुग्दै हुनुहुन्छ । नेपाल सरकारको निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लाग्नुभएका उपप्रधानमन्त्री याङको नेपाल भ्रमण चार दिवसीय रहने छ ।

निकै अघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराद्वारा गरिएको निमन्त्रणामा काठमाडौं आउन लाग्नुभएको भनिए पनि भारत र चीनबीच दोक्लाम क्षेत्रमा बढिरहेको तनावका बीच भएको चिनियाँ उच्च नेताको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । सरकारी अधिकारीहरुले उपप्रधानमन्त्री स्तरमा चीनबाट हुन लागेको यो भ्रमण नेपालको पुनर्निर्माण र विकासमा केन्द्रित हुने जनाए पनि चीनबाट यस तहको भ्रमण करिव पाँच वर्षपछि हुन लागेकोले भ्रमण विशेष महत्वको बन्न पुगेको कुटनीतिक जानिफकारहरुको भनाई छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उपप्रधानमन्त्री याङले आगामी बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले सोही दिन शिष्टाचार भेट गर्नुहुने छ । उपप्रधानमन्त्री याङले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग चाहिँ आगामी मंगलबार नै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । सोही दिन चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ उहाँले गर्नुहुनेछ ।

यसवाहेक कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकनलगायतका कार्यक्रमहरु पनि उपप्रधानमन्त्रीको भ्रमण कार्यक्रममा समावेस गरिएका छन् ।

बताइएअनुसार चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । विशेष महत्वको भेटचाहिँ बेग्लै रहेको बुझिएको छ । चिनियाँ उपप्रधानमन्त्री वाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसँग बेग्लाबेग्लै भेटावार्ता गर्नुहुनेछ ।