पूर्वमन्त्रीले भोगे यस्तो पीडा !

पूर्वमन्त्रीले भोगे यस्तो पीडा !


मुलुक बाढी-पहिरोको चपेटामा परेको छ । खासगरी तराई मधेस यतिबेला जलमग्न छ । आमजीवन अस्तव्यस्त मात्र नभई निहत्था रुपले घोर विपत्तिको सामना गर्न विवश बनेको छ । यस क्रममा आफ्नो गाउँ सप्तरी पुगेका जयप्रकाश आनन्द पनि मधेस एवम् सिंगै मुलुकले भोग्नुपरेको यस पीडाबाट अछुतो रहन सकेनन् । पूर्वमन्त्रीसमेत रहेका आनन्द आफू बाढीको फन्दामा परेको अवस्था र उद्धार तथा राहतमा सरकारको निरीहता उजागर हुने गरी सामाजिक सञ्जालमार्फत् मार्मिक किसमबाट पोखिएका छन् ।

आफ्नो फेसबुक वालमा उनले लेखेका छन्-

‘बिहान ६ः३० बजेदेखि बिजुली छैन, स्वभावतः खानेपानी सेवा छैन । केवल टिभी दिनभर अवरूद्ध छ । फ्रि टू एयर टिभी च्यानलको त जमाना नै रहेन । रेडियोको लागि बाहिर गई ब्याट्री किन्ने अवस्था छैन । नेपाल टेलिकमको सेवा अवरूद्ध छ, एनसेलको रिचार्च उपलब्ध हुन छोड्यो । भू-सतह देखिँदैन, दुवैतिरको लस्करै भवनहरूको बीचभाग सडक होस—, अनुमान गर्न सकिन्छ ।’

‘यस्तो अवस्थालाई छिचोल्दै मेरो कार्य स्थल फार्म पुग्ने प्रयत्न गरेँ, पुग्न सकिन । त्यहाँ सतह उपर पाँच फिट पानी बग्दैछ । लोहन्द्रा नदीको तीरमा बसेको हुरहुरिया बस्ती बग्यो । सुन्दरी फार्मको तीनवटा माछा पोखरी जलमग्न भएको छ । पखालियो । रातभरीमा बाँकी सबै संरचना समाप्त हुनेछ, तर दैवले त्यसो नगरून् ! एउटा पावर ट्रिलर र ट्रयाक्टर जलसमाधी लिएछ । पालुवा चराचुरूंगी स्वतन्त्र भएछ । पोखरीका डिलहरूले घेरेर बलजफ्ती राखेको माछाहरू रूसोको स्वतन्त्रताको चाहनालाई पूरा गरेको छ । स्वच्छन्द भइ विचरण गरे !’

‘पाषाण युगबाट रुपान्तरित भई खेतीयोग्य जग्गामा बदलिएको जग्गा फेरि पुर्खाकै युगमा फेरिएको छ । बढी कर असुल्नका लागि सरकारले छुट्याउन चाहेको बाँझो र उब्जाउ जग्गाको विभेद समाप्त भएको छ ।’

सोवियत संघको स्थापनापछि पैतृक जग्गाबाट वेदखल हुन नमानेर कम्युनिष्टका गोली खान स्वीकारेका लाखौँ मानिसको पैतृक भूमिप्रतिको लगाव यस्तो विपदमा वदलिँदो रैछ । प्रकृतिले लखेटेपछि समाज नै डुलन्ते बन्दोरैछ । राज्यले लखेटदाको बेलामा गरिने प्रतिरोध हुँदोरहेनछ । करिब ६०-७० घर परिवार त ज्यान जोगाउन बाबुबाजेको थलो छोडेर मकहाँ आइपुगेका छन् । यस्तै अवस्था छ, यहाँ मोरंग, सुनसरी, सप्तरी र पूर्वमा ।’