त्रिभुवन विमानस्थलमा सशस्त्र डीएसपीको कमान्डमा नयाँ टोली

त्रिभुवन विमानस्थलमा सशस्त्र डीएसपीको कमान्डमा नयाँ टोली


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरीको डिएसपीको कमाण्डमा नयाँ टोली परिचालन गरेको छ । सशस्त्रका प्रहरी नायब निरीक्षक (सइ) सञ्जीव मानन्धर सुन तस्करीमा संलग्न भएको आरोप लागेपछि मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको हो । विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई त्याहाँ खटाएको छ ।

कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका हुन । गलत काम गर्ने व्यक्ति र निकायको सुराकी गर्ने जिम्मेवारी पाएका मानन्धर स्वयं सुन तस्करीमा मुछिएपछि अन्य सुरक्षाकर्मीमाथि पनि प्रश्न उठ्न थालेपछि सो स्थानमा नयाँ कमाण्डमा विमानस्थलको जिम्मेवारी दिएको सशस्त्रले जनाएको छ । विगतमा त्रिभुवन विमानस्थलमा सेटिङमा काम गरेको आरोपमा तत्कालीन डीआईजी गोपाल भण्डारी, एसएसपीद्वय रवीराज श्रेष्ठ र श्याम खत्रीसमेत निलम्बनमा परेका थिए । सुन तस्करीमा संलग्न भएको भनिएका सशस्त्रका सई मानन्धरविरुद्ध मुद्दा चलिरहेको छ ।

सुन तस्करी प्रकरणमा आफ्ना कर्मचारी संलग्न हुँदा संगठनको विश्वसनीयता र गरिमामा समेत आँच आएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विमानस्थलमा नयाँ टोली पठाएको हो । त्यहाँ खटिएका १४ जनाको टोली फिर्ता बोलाएर नयाँ पठाएको हो ।

सुन तस्करीमा संलग्न मानन्धरसमेत सुरक्षा महाशाखाअन्तर्गत कार्यरत थिए । सशस्त्र मुख्यालयमा उक्त महाशाखा इन्चार्जका रूपमा डीएसपी गोपीचन्द कार्यरत छन् । चन्दलाई तत्कालीन महानिरीक्षक कोषराज वन्तले इन्चार्ज बनाएका थिए । लामो समयदेखि एउटै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरबाही भएको ठहर सशस्त्र प्रहरी संगठनभित्रै आलोचना भएको थियो ।

मलेसियन एयरलाइन्सबाट दुई किलो सुनसहित काठमाडौं आएका पोखराका लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङ पक्राउ परेपछि उनीहरूकै बयानका आधारमा सशस्त्रका सई मानन्धर पक्राउ परेका थिए । रिजाली र गुरुङले ल्याएको सुन विमानस्थलबाट बाहिर निकाल्न मानन्धरलाई प्रयोग गरेका बयान दिएका थिए । रिजाली र गुरुङलाई ट¥याकिङ गरेका थिए । अध्यागमनको अराइभल कक्षनजिकैको शौचालयमा सुन लुकाउन लागेपछि प्रहरीले रिजालीलाई दुई किलो सुनसहित पक्राउ गरेको थियो ।