देशभर घनघोर वर्षा, जनधनको ठूलो क्षति

देशभर घनघोर वर्षा, जनधनको ठूलो क्षति


उद्धारको सरकारी प्रयास न्यून

दुई दिनदेखि देशभर घनघोर वर्षाका कारण पहाडमा पहिरो र तराई डुबानमा परेको छ । सोही कारण जनधनको ठूलो क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका परी हालसम्म कम्तिमा ३० जनाको मृत्यु भइसकेको र दर्जन बढी व्यक्ति बेपत्ता भएको मन्त्रालयले जनाएको छ । तर, उद्धारमा सरकारी प्रयास भने न्यून रहेको आरोप स्थानीय पिडितहरुले गुनासो गरेका छन् । वर्षाका कारण विभिन्न ठाउँबाट स्थानीय विस्थापित भएका छन् भने हजारौं घर डुबानमा परेका छन् ।

शुक्रबार रातीदेखिको भारी वर्षाका कारण विराटनगर विमानस्थल नै डुबानमा परेको छ । धावनमार्ग नै डुवानमा परेपछि शनिबार बिहानैदेखि विमानस्थल ठप्प रहेको छ । विमानस्थलमा जहाजसमेत डुबानमा परेको छ । महानगरका अधिकांस भित्री राजमार्ग डुबानमा परेका छन् । हालसम्म अविरल वर्षाका कारण मोरङका २ हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

मोरङको रतुवा र बक्राहा खोलाको बाँध फुटेर रतुवामाइ नगरपालिकाका ५,७, ८ र ९ नम्बर वडामा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा बाढीमा परेर मृत्यु भएका सातजनाको शव भेटिएको छ । उनीहरुको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । मृत्यु हुनेमा भोजपुर घर भई हाल इटहरी—४ गौरीगाउँ बस्ने माया राईका एक छोरा र एक छोरी, आइतबारे बस्ने वर्ष ४० का इश्वर सुनुवार, गौरीगाउँ बस्ने माला शाह, उनकी १० वर्षीया छोरी सिटी, अन्दाजी ७५ वर्षीय एक बृद्ध र अन्दाजी ३५ वर्षकी महिलाको शव भेटिएको हो ।

इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । रौतहटको देवही–८ मा बाढीका कारण एकै घरमा दुईसय भन्दा बढी सर्वसाधारण बाढीको डुवानमा परेका छन् । पानीको सतह पाँच फिटसम्म बढेकाले उनीहरु तीनतले घरको शरण लिन बाध्य भएका छन् ।  बर्दियाको बबई नदी बालापुर हुँदै बस्ती पसेपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ । बारबर्दिया, ठाकुरबा र बाँसगढीका १ सय ४६ घरपरिवार विस्थापित भएका छन् ।

वर्षाले सप्तरीका १० हजार घर डुबानमा परिसकेका छन् । डुबानमा परेकामध्ये १ हजार परिवार बिस्थापित भइसकेका छन् । हनुमाननगर कंकालनी नगरपालिका—१ देखि १४ नम्बर वडासम्म जिल्लाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमाननगर र सप्तरीकै विकट मानिने कोशी टप्पुमा अवस्थित गोवरगाढाकमो वस्ती पूर्ण रुपमा डुबानमा परेको छ ।

यसैगरी, कोशी र खाँडो नदीमा आएको अत्याधिक बाढीका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्ण रुपमा डुबानमा परेका छन् ।

राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ ।  महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ मध्ये ४१ सडक अवरुद्ध भएका छन् । महोत्तरीका २ गाविसका १७ परिवार बाढीका कारण विस्थापित भएका छन् । सम्सी गाउँपालिका—४ गैंढाभेटपुरका १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् ।

जनपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा बढी पानी जमेको छ । रासस र हुलाक कार्यालयका कोठामा पानी भरिएको छ ।  रासस, हुलाक, आन्तरिक राजस्व, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय, प्रजिअको कार्यालय परिसर डुबानमा परेका छन् ।

पूर्व—पश्चिम राजमार्गका विभिन्न ठाउँ कटानमा परेपछि राजमार्ग अवरुद्ध बनेको छ । सुन्दरहरैंचा नगरपालिका—४ स्थित बुढी खोलामा आएको बाढीले पुल कटान गरेपछि राजमार्ग अवरुद्ध भएको छ ।

जाजरकोटका खोलानाला बढेपछि दर्जनबढी टाउँमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युतका लागि निर्माण गरिएको पानीको नहरसमेत भत्किएको छ । नलगाड नगरपालिका—३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बाढीले बगाएपछि विद्युत आपूर्ति ठप्प भएको छ । कुशे गाउँपालिका—२ मा रहेको खाराखोला जलविद्युत आयोजना पनि अवरुद्ध भएको छ ।

चितवनको माडी नगरपालिकाका दक्षिणी भु–भाग डुबानमा परेका छ । ठाडा खोला र रिउ नदीमा आएको बाढीका कारण माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका हुन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका—४ स्थित दाउन्ने उकालोमा सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ ।

गृहमन्त्रालयले बाढी पहिरोबाट हालसम्म कम्तिमा ३० जनाको मृत्यु भएको साथै एक दर्जन व्यक्ति हराइरहेको जनाएको छ । केन्द्रीय दैवि प्रकोप तथा उद्धार समितिको सिंहदरबारमा बसेको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार गरी राहत वितरणमा जुट्ने निर्णय गरेको छ । बैठकले राहत र उद्धारमा उच्च प्राथमिकताका साथ टोली परिचालन भइरहेको भन्दै कठिन घडीमा राहत सामग्री र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था लगायतलाई अपिल गरेको छ ।

यसैगरी, ललितपुरको कर्मनासा खोलामा आएको बाढीका कारण हात्तिवन क्षेत्रका ५० भन्दा बढी घर डुबानमा परेका छन् । पहिरोमा पुरिएर सिन्धुलीका एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सिन्धुलीमाढी २ का उदयबहादुर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमारी, १५ वर्षीया छोरी शोभा तथा १० वर्षिय छोरा अनिश र ८ वर्षिय छोरा मनिष रहेका छन् । पाँचथरको फालेलुङ गाउँपालिका—३ मा नेवा खोलामा आएको बढीसंगै पहिरोले बगाएर तीनजनाको मृत्यु भएको छ ।