विगतका सहमति कार्यान्वयनलाई प्राथमिकता दिइने : राजदूत उपाध्याय

विगतका सहमति कार्यान्वयनलाई प्राथमिकता दिइने : राजदूत उपाध्याय


प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ । ललितपुरमा आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भन्नुभयो, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै उहाँले भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको आफूले पाएको जानकारी दिनुभयो । अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सकियो भने मुलुकको विकासमा कायापलट हुने बताउँदै उहाँले हाम्रो तर्फबाट कार्यसूची टुंग्यायाँै भने अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पु¥याउन आवश्यक छ भन्नुभयो ।

पेट्रोलियमका अतिरिक्त प्राकृतिक र खाना पकाउने ग्यासको पाइपलाइन बिच्छ्याउने, जलमार्ग विस्तार गर्नेजस्ता विषयमा पनि छलफल हुने बताउँदै उहाँले सहमति गरी हाल्ने पछि पछुताउने जस्तो प्रवृत्ति अन्त्य गर्न विषयवस्तुमाथि गम्भीर छलफल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । सुनौली नाकाको क्षमता सानो भएका कारण बेलाबेलामा त्यहाँ असहजता आउने गरेको बताउँदै राजदूत उपाध्यायले सुनौली नाकामा देखिएको समस्याका बारेमा भारतीय समकक्षीसँग कुराकानी गरेको र आफू आजै त्यही बाटो भएर दिल्ली जान लागेको जानकारी दिनुभयो । रासस