बाढी पहिरोले ३० जनाको निधन

बाढी पहिरोले ३० जनाको निधन


झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ । गृहमन्त्री जनाद्र्धन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झापाको मदना,कपनबास,बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ । ‘हामीले उद्धारलाई प्राथमिकतामा राखेका छौ’गृहमन्त्री शर्माले भने ‘स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य टोली र उद्योगी व्यवसायीबाट ड्राइ फुड डुवानग्रस्त क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’

गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।

प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले बताए । अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ । बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्‍याएको छ । त्यस्तै केराबारी९ ५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा समेत बाढीले क्षति पुर्‍याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।

बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ । देशको विभिन्न स्थानमा गएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दाङमा एकजना महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा तुलसीपुर–१३ का भगवती सुनार रहेको छ । स्थानीय तुईखोलामा आएको बाढीले घर बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी राप्ती नदीमा आएको बाढीले दर्जनाँै घर डुबानमा परेको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै लमही नगरपालिका–५ मा दुईवटा घर पूर्णरुपले क्षति भएका छन् भने छवटा घर डुबानमा परेका छन् । यसैगरी बबई नदीमा आएको बाढीले दुईवटा घर बगाएको छ भने ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

गएराति १ः३० बजेदेखि तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा यातायात ठप्प भएको छ । बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतीपुर, बाँकी गाउँ जलमग्न भएको छ । त्यसैगरी घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा पनि बाढीले सडक बगाएको इप्रका तुलसीपुरले जनाएको छ ।

खोलाले बगाउँदा दुई जनाको मृत्यु,पाँच बेपत्ता

झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यता, शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेलाई झिलझिले खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सशक्त प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

एक घर पुरियो, दुई घर जोखिममा

गएरातिदेखि परेको अबिरल वर्षाले रामपुर नगरपालिका– १० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन् । कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो ।

कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो ।बाढीले घर पुरिएपछि आलेको परिवार अहिले आफन्त र छिमेकीको शरणमा बसेका छन् । त्यस्तै सोही स्थानकै देवनाथ अधिकारी, भोलानाथ पाण्डेय र आनन्द पाण्डेको घर जोखिममा रहेको छ ।

कालीगण्डकी करिडोरले कच्ची नाली निर्माण गरेका कारण यहाँ क्षति हुन पुगेको हो । करिडोरको बाटोमा करिब पाँच मिटर चौडाइदेखि १० मिटर गहिराइसम्म पानीले खोलेको छ । यस क्षेत्रमा करिडोरको बाटोको नाली भत्किँदा करिब पाँच बिगाहा क्षेत्रफलमा लगाइएको धान पुरिएको कृषकले बताएका छन् ।

घर भत्किँदा तीनको मृत्यु

राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताउनुभयो । मृतकको अझैसम्म नाम खुलेको छैन । उहाँका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।

पीडितलाई हेलिकप्टरमार्फत उद्धार

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८।५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । रासस