फर्निचर प्रदर्शन मेला गरिँदै

फर्निचर प्रदर्शन मेला गरिँदै


नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ३ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा फर्निचर प्रदर्शन गर्ने भएको छ । ‘जेन फ्लोरिङ प्रिजेन्ट फर्निसिङ’ नाम दिइने उक्त प्रदर्शनीमा ४७ ठूला उद्योगका बिक्री कक्ष तथा १९ साना कक्ष राखिने छ । पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी गरिँदै आएको छ ।

दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शन तथा बिक्री गरिने छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा क्रियाशील उद्यमी तथा उपभोक्तालाई एउटै थलामा ल्याएर अन्तरक्रिया गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो ।

मुलुकलाई आवश्यक पर्ने फर्निचर स्वदेशमा उत्पादन गरी आत्मनिर्भर बनाउन सकिने बताउँदै उहाँले मुलुकमा वन संरक्षण तथा काठ उत्पादनको प्रष्ट नीति भएमा उद्योगले ठूलो रोजगारी सिर्जना गर्ने बताउनुभयो । काठमाडौँ उपत्यकामा मात्र वर्षेनी करिब रु चार अर्बको फर्निचर कारोबार हुने बताइएको छ । रासस