काङ्ग्रेस जोगाउन अपिल

काङ्ग्रेस जोगाउन अपिल


आगामी असोज १ गतेदेखि ५ गतेसम्म बाह्रौं महाधिवेशन हुँदै छ । यो महाधिवेशन संस्थापक नेताहरूबिना सम्पन्न हुन गइरहेको छ । ११औँ महाधिवेशनसम्म लोकतन्त्रका संस्थापक क्रान्तिपुरुष स्वर्गीय गिरिजाबाबुको नेतृत्वमा लोकतन्त्रवादी र निरङ्कुश राजतन्त्रवादीका बीचको सङ्घर्षबीच अधिवेशन जाउलाखेलको खुला मैदानमा गर्न निरङ्कुश राजतन्त्रले बाध्य पारेको थियो । सोही उद्घाटन समारोहबाट क्रान्तिनेता स्वर्गीय गिरिजाबाबुबाट ‘जनता कहिले पनि जनआन्दोलनमा हारेको छैन तर निरङ्कुश राजतन्त्र हारेपछि एक इन्च जग्गा जनतासँग माग्नुपर्ला’ भन्ने उद्घोष गरेअनुसार पार्टीको पनि नेतृत्व गरी नेपालमा लोकतन्त्र स्थापना गर्नुभो । यसकारण यो बाह्रौं महाधिवेशन गोरखाका राजासँग न्याय माग्न जाने र लोकतन्त्रवादीहरूको बीचको अधिवेशन र सङ्घर्ष हो । जब नेपाली काङ्ग्रेस ०५८ सालदेखि ०६३ सालसम्म लोकतन्त्रको आन्दोलनमा देश होमिएको थियो त्यसबेला भ्रष्ट पार्टीका नेताहरू आफ्नो अक्षम शब्दलाई हारगुहार गरी न्याय माग्न गोरखाका राजाकहाँ गएका थिए । आज पनि एउटा उखान छ । जो चोर उसैको ठूलो स्वर भनेझैं आज पार्टी देश र लोकतन्त्रसमेत नेपाललाई यो परिस्थितिमा पुर्‍याउनेहरू नै पार्टी कब्जा गरी पार्टीलाई किनबेचको बाटो बनाई भर्‍याङ चढ्न पैसाको बलमा भ्रष्टहरूले कब्जा गर्न खोजिरहेका छन् । यसकारण जुन पार्टीले संसारको इतिहासमा नभएको एउटा सशस्त्र क्रान्ति र दुईवटा अहिंसात्मक आन्दोलन गरी लोकतन्त्र स्थापना गर्‍यो र त्यस पार्टीका समर्पित कार्यकर्ताले त्यस्ता भ्रष्टहरूलाई ठीक ठाउँमा राख्नेछन् साथै २००७ सालदेखि सुदूरपश्चिमको काङ्ग्रेसको नेतृत्व स्वर्गीय एनडी प्रकाश चटौत र भूपूमन्त्री स्वर्गीय शिवराज पन्तले २००७ सालको क्रान्तिको नेतृत्व गरी आजसम्म काङ्ग्रेसको सङ्गठन यहाँसम्म आएको हो । त्यसबीचमा ०१५ सालको आमचुनावमा डडेल्धुराबाट विजयी भई बीपी कोइरालाको मन्त्रिमण्डलमा नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी चन्द, दर्ुगादत्त जोशी, लोकेन्द्रबहादुर शाह, खेमराज जोशी, मकरबहादुर स्वाँर, शेरबहादुर सिंह, शहिद मीनबहादुर चन्द, रामचन्द्र हमाल, फुत्ते पार्की आदि पुराना काङ्ग्रेसीहरूका गोत्रसमेतहरूलाई पार्टी नीतिविपरीत पाखा लगाई कुनै पनि पार्टीमा योगदान, जनआन्दोलन नगरेका र क्रान्ति नगरेका राजावादी खड्गबहादुर सिंहसँग अञ्चलाधीश माग्नेको कब्जामा परेपछि त्यहाँका काङ्ग्रेसीहरूको बिचल्ली परेको कुरा सबैलाई थाहा नै छ र यसकारण समर्पित, निष्ठावान, निष्कलङ्क, पार्टीलाई संस्थागत गर्ने, पार्टीलाई अझ बढी लोकतान्त्रिक बनाउने, लोकतन्त्रका लागि कुनै पनि शक्तिसँग सम्झौता नगर्ने कर्मठ नेताहरूलाई अत्यधिक बहुमतले नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति जिताउन र पार्टीलाई जोगाउन यो प्रतिष्ठान हार्दिक अपिल गर्दछ ।
– सुरेन्द्रबहादुर चन्द, अध्यक्ष, द्वारिकादेवी ठकुरानी र सहिद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान, कञ्चपुर

यसरी एकता हुन्छ त –
नेपाली काङ्ग्रेस महाधिवेशनको सङ्घारमा छ । बाह्रौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । हो, यो एकताको महाधिवेशन नै बन्नुपर्छ र हामीजस्ता कार्यकर्ता यही उद्देश्य पूरा गराउन दिलोज्यानले लागिपरेका छौँ । तथापि, एकता भन्दैमा एकता हुने कुरा होइन । पार्टीको तल्लो निकायदेखि नै एकताभाव पैदा हुनु जरुरी छ र नेता-कार्यकर्ताबीच आपसी सद्भाव हुनु पनि उत्तिकै जरुरी छ । तर, पार्टीभित्र पन्पिएको भुइँफुट्टा र अराजक जत्थाका कारण यस्तो एकता र सद्भाव खल्बलिने परिवेश पनि देखिँदै छ ।
एउटा उदाहरण लिऊँ । गत २५ गतेको घटना हो । काङ्ग्रेस कार्यवाहक सभापतिको निवासमा देशभरिका कार्यकर्ता जम्मा भई महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा विजयी बनेर आउनेहरूलाई शुभकामना आदान-प्रदान गर्ने र उम्मेदवारहरूका लागि भोट माग्ने-मगाउने सिलसिला चलिरहेको थियो । यही क्रममा चितवन दाह्रेचोक गाविस-३ की क्षेत्रीय सदस्य कमला गुरुङले केन्द्रीय सदस्यका उम्मेदवार टेकप्रसाद गुरुङ -जो चितवनका पूर्वसभापति पनि हुन्)का लागि चितवनका अहिलेका पार्टी सभापति विकास कोइरालासँग मत मागिन् । यो स्वाभाविक कुरा नै थियो । तर, अचम्म † पार्टी सभापतिजस्तो जिम्मेवार नेता तथा सबैलाई मिलाएर सङ्गठनलाई अघिबढाउनुपर्ने जिम्मेवारी बोकेका व्यक्तिले कमलालाई अपमानजनक शब्दहरू प्रयोग गर्दै बेस्सरी हप्काए । सभापतिको उक्त अप्रिय व्यवहारप्रति सँगै रहेका दाह्रेचोक गाविसका काङ्ग्रेस सभापति तथा चितवन पहाडी पाँच गाविसका संयोजक मित्रलाल त्रिपाठीले ‘पार्टी सभापति भएर कार्यकर्तामाथि यस्तो व्यवहार नगरिदिन र सबैलाई मिलाएर अघि बढ्न’ अनुरोध गरे । तर, त्यस कुरालाई सामान्य र स्वाभाविक रूपमा लिनुपर्नेमा कोइराला उल्टै त्रिपाठीमाथि खनिए । सभापति कोइरालाले आफ्ना ‘आसेपासे’ मसलदार युवाहरू लगाएर ‘यसलाई घोक्र्याएर बाहिर निकाल’ भन्ने आदेश दिए । के पार्टीका केन्द्रीय सभापतिको निवास कम्पाउन्डभित्र रहेर आपसमा शुभकामना आदान-प्रदान गर्ने अधिकार सबै कार्यकर्तालाई छैन र – आफूसँग पैसा र पावर छ भन्दैमा आफ्नै कार्यकर्तामाथि बिनाकारण जाइलाग्नु कुन काङ्ग्रेसी संस्कार हो – के नेताका यस्तै व्यवहारले पार्टी एकतामा जान्छ – विकास कोइरालाले मित्रलाललाई ज्यानै लिनेसम्मको धम्की पनि दिए । यसलाई पार्टीले कसरी लिन्छ, त्यो पनि हामी हेर्नेछौँ ।
– मीनबहादुर श्रेष्ठ -प्रत्यक्षदर्शी), दाह्रेचोक-४, चितवन

युवाहरूलाई सुसंस्कारसहित स्थापित गरौँ
देशमा लोकतन्त्र आएको २१ वर्ष भयो । त्यसबखतदेखि आजसम्म उनै चेहरा पार्टी र शासनमा हाबी हुँदै आएका छन् । तर देश, जनता र लोकतन्त्रले उनीहरूबाट के पाए – बरु उनीहरूकै कारण पार्टी र लोकतन्त्र झन्-झन् असफल भएर मृतोन्मुख हुँदै गइरहेका छन् । समाजमा हिजो ‘हिरो’का रूपमा स्थापित भएका हाम्रा आदरणीय नेताहरू आज त्यही समाजको नजरमा दुश्मन सावित भएका छन् ।
अरू पार्टीको हैसियतको त के कुरा गर्नु र † तर काङ्ग्रेसले नै आफ्नो हैसियत गुमाउने र अरू पार्टीलाईसमेत भाँड्ने काम गरेपछि त असन्तुष्टि जाहेर गर्नैपर्ने हुन्छ । आज पनि हाम्रा बूढा नेताहरू पैसाको खोलो बगाएरै भए पनि महाधिवेशनमार्फत पार्टी कब्जा गर्ने ध्याउन्नमा छन् । के त्यसले पार्टी, कार्यकर्ता र जनतामा नयाँ जोश, जाँगर बढ्नेवाला छ र – विगत २१ वर्षदेखि जसले देश र पार्टीको यो अवस्था गराएको छ तिनले अहिले महाधिवेशनमा जति कसम खाए पनि ‘नानीदेखिको बानी परिवर्तन हुँदैन’ भनेझैं यिनले दुई दिन झुटा वाचा गरेर स्थापित त होलान्, तर यिनका पुराना विकृत व्यवहार समाजमा पुनः हाबी हुनेछ र पार्टीले कुनै गति लिन सक्नेवाला छैन । अतः पार्टीमा उनीहरूको उपस्थितिले कम्युनिस्टहरू झन्झन् बढ्दै जानेछन् । स्वच्छ राजनीति गर्दै आएका युवा कार्यकर्तालाई नोकरको तप्कामा राखी पैसाले पेलेर नपुङ्सक बनाई पार्टी र देशको राजनीतिलाई ‘कहाँ जान्छस् मछली मेरै ढडिया’ भन्ने ठानेर अहिले जो महाधिवेशनमा पद हत्याउन मुख मिठ्याइरहेका छन्, पार्टी र देशले तिनीहरूबाट केही पाउनेवाला छैन ।
हामी एकचोटि पार्टीको विगततर्फ फर्केर हेरौँ त, पार्टी र देशलाई आजको अवस्थामा युवाले होइनन् यिनै बूढा नेताको व्यवहार र दूराभ्यासले पुर्‍याएको हो । आज यिनका कारण पार्टी, देश र समाज हरक्षण मर्दै छन् । अतः बुझपचाएर तिनले पार्टी र लोकतन्त्रलाई नयाँ जीवन दिनेछन् भनेर फेरि पनि चयन गर्नु युवाहरूले आफ्नो खट्टामा आफैं बञ्चरो हान्नु हो ।
अब बूढापुस्ताले छाड्नैपर्छ, मान्दैनन् भने युवापुस्ता एकजुट भएर लेउ काड्ने प्रयत्न गर्नैपर्छ । काङ्ग्रेसका युवाले यो काम अघिबढाए भने अरू पार्टीमा पनि यस्तै ‘बूढा र अयोग्य हटाऊ’ अभियान सुरु हुनेछ । यसले सिङ्गो मुलुकलाई पचास वर्ष अगाडि छलाङ मार्न सहयोग पुर्‍याउनेछ । काङ्ग्रेस महाधिवेशनका मतदाता प्रतिनिधिहरू † कम से कम ५० वर्षमुनिका धेरैभन्दा धेरै युवालाई महाधिवेशनमा जिताउन लाग्नुस् । होइन भने तपाईंहरू, आमनागरिक, लोकतन्त्र र काङ्ग्रेस पार्टीकै भविष्य अन्धकार हुनेछ । अयोग्य बूढाहरूलाई पन्छाउन सक्नुभयो भने काङ्ग्रेस र देशकै कल्याण हुने आशा पलाउन सक्नेछ । जय नेपाल †
– सञ्जीव सत्याल, ज्ञानेश्वर, काठमाडौं