नेपालमा पनि विजनेस एक्सलेन्स अवार्डको तयारी

नेपालमा पनि विजनेस एक्सलेन्स अवार्डको तयारी


ग्लोबल ग्रोथ पार्टनरशीप कम्पनी, फ्रष्ट एण्ड सलिभन र नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालका सशक्त, दीगो र लगानीकर्तामैत्री कम्पनीहरूलाई सम्मान गर्ने उदेश्यले नेपाल विजनेश एक्सलेन्स अवार्डको आयोजना गर्ने भएको छ । काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी यहि नोभेम्वर १४ मा होटल सोल्टी क्राउन प्लाजा काठमाडौंमा ‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड (एनबीइए) २०१७’ को पहिलो संस्करण गर्ने भएकोे हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा रहेको स्थापित व्यवसायी मध्येबाट ‘इन्नोभेटिभ’ तथा राम्रो काम कार्य गर्ने कम्पनीलाई छनोट गर्ने उद्देश्यले उक्त अवार्ड कार्यक्रम राखेको बताएका छन् । उनले भने,‘यसबाट सफल उद्योगीहरूलाई उनीहरूले गरेको राम्रो कार्यको कारण सम्मान गर्ने हो, कार्यक्रम मार्फत नेपालकोे व्यवसायलाई अन्तर्राष्ट्रियकरण गरिनेछ ।’  उनले नेपाल आर्थिक वृद्धिको दिशामा अघि बढीरहेको र कम्पनीहरूका लागि वृहत लगानी र विस्तार गर्ने अवसरका ढोकाहरू खुलिरहेको जनाए । दक्षता, परिणाम र कार्यप्रदर्शन सुधार गरी बजार सुहाउने बन्न नेपाली कम्पनीहरुले अन्तर्राष्ट्रियरूपमा स्वीकृत प्रणालीहरू अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

भारत लगायतका अन्य देशहरूमा दश बर्ष अघिदेखि एक्सेलेन्स अवार्ड सञ्चलनमा आइहेको र पहिलो पटक नेपालमा पनि सञ्चालन गर्न लगिएको फ्रष्ट एण्ड सलिभनको भनाइ छ । सो कार्यक्रमले नेपालका विभिन्न कम्पनीहरूमाझ व्यापार उत्कृष्टताको स्थापना तथा मूल्यांकन गर्ने फरक फोरमको सुरूआत हुनेछ । साथै कम्पनीहरूले दिगोपन, लगानीकर्तामैत्री व्यापार ढाँचा अपनाए÷नअपनाएको पहिचान हुनेछ ।

उत्पादन, व्यापार, अस्पताल, निर्माण, होटल, बैंकिङ क्षेत्र लगायतका कम्पनीहरू यस मूल्यांकन प्रक्रियामा सहभागी हुन सक्ने बताइएको छ । कम्पनीहरूको बिक्री कारोबारमा आधारित सहभागीताका लागि चार श्रेणी निर्धारण गरिएको छ । जसमा उदीयमानको रुपमा ३ करोड रुपैयाँभन्दा कम बार्षिक कारोबार गर्ने कम्पनी, मध्यमा ३ र २५ करोडबीचको वार्षिक कारेबार भएका कम्पनी, ठूलामा २५ देखि ५० करोडबीच र अति ठूलामा ५० करोड रुपैयाँभन्दाबढी वाार्षिक कारोबार गर्ने कम्पनीहरू सहभागी हुन सक्ने जनाइएको छ ।

व्यापार योजना, रणनीति क्रमवद्धता र प्रयोग, संस्थागत विकास÷सहायता र प्रक्रिया व्यवस्थापन गरी चार मूल्यांकन ढाँचा तथा व्यापार प्रकृयाको अधारमा कम्पनीहरूको श्रेणी मापन गरिनेछ । जसमा विजेता कम्पनीहरूलाई ‘सुपर प्लेटिनम अवार्ड’ र ‘सुपर प्लेटिनम अवार्ड फस्र्ट रनर अप’ प्रदान गरिनेछ । यस बाहेक क्षेत्र विषेश पुरस्कारहरु प्लेटिनम, गोेल्ड र सिल्भर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।