खेलकुदमन्त्रीको यस्तो प्रतिबद्धता

खेलकुदमन्त्रीको यस्तो प्रतिबद्धता


युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिन आफू प्रतिबद्ध रहेको जनाएका छन् । दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा हरिहरभवनस्थित मन्त्री निवासमा मन्त्री केसीद्वारा आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउँदै मन्त्री केसीले भने– ‘खेलकुदमा धेरै राजनीति हुन्छ भनेको सुनेको छु, म त्यो हुन दिन्नँ । तपाईं खेलाडीहरू कडा मिहिनेतबाट यो अवस्थामा आइपुग्नुभएको छ । तपार्ईंहरूको उर्जालाई कुनै पनि प्रकारको विभेद, अन्याय र अनावश्यक राजनीतिका कारण कुनै पनि हालतमा मर्न दिन्नँ ।’ सो अवसरमा १३औं दक्षिण एसियाली खेलकुदको मुख्य चुनौती पूर्वाधार भएको बताउँदै खेलकुदका पूर्वाधार भएका अन्य निकायसंग पनि जानकारी लिइरहेको उनले बताए ।

१३ औं सागको तयारीका लागि धेरै समय नभएको उल्लेख गर्दै उनले यसको मुख्य चुनौती पूर्वाधार नै रहेको खुलासा गरे । भने– ‘त्यसै त हामीसँग कम पूर्वाधार छन् । भएका पूर्वाधारमा पनि भूकम्पले क्षति पु¥याएको छ । पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु ।’ सागका लागि पोखरालाई पनि ध्यानमा राखिएको बताउँदै उनले खेलाडीको वृत्ति विकास र सम्मान कसरी हुन सक्छ त्यसमा विषयमा सकारात्मक सुझाव दिन खेलाडीहरूसँग आग्रह गरे ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेत समेतको उपस्थिति रहेको सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्भवतः इतिहासमै पहिलो पटक विभागीय मन्त्रीले खेलाडीलाई यसरी भेट्न बलाएको भन्दै खेलकुदमन्त्री केसीप्रति आभार प्रकट गरे । यसबाट खेलाडीको दर्जा माथि छ भन्ने सन्देश जाने उनको धारणा थियो । उनले खेलाडीले हासिल गरेको पदकको वर्गिकरण गरी शिक्षा, स्वास्थ्य, यातातमा सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री केसीलाई आग्रह गरे । कार्यक्रममा नयाँदेखि पुराना पुस्ताका पदक विजेता खेलाडीलगायतको उपस्थिति रहेको थियो । उनीहरूलाई खेलकुदमन्त्री केसी र सञ्चारमन्त्री बस्नेतले खादा र टीका लगाइ स्वागत गरेका थिए ।