आरजुलाई दिएको सुझाव सही लाग्यो

आरजुलाई दिएको सुझाव सही लाग्यो


साउन ११ गते प्रकाशित घटना र विचारमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई देवप्रकाश त्रिपाठीले नमागिएको सुझाव दिएको पढियो । लेखमा उल्लेख तर्क र तथ्यसँग म पूर्ण सहमत छु । तर, जसका लागि सो लेख लेखियो तिनले पढ्ने छैनन् र पढे भने लेखक महोदयप्रति जीवनभरि दागा धर्नेछिन् भन्ने मलाई लाग्छ । आरजु राणाले शेरबहादुर देउवासँग विवाह गर्नुको कारण खोज्न थालियो भने रहस्यका अनेकौँ तरेली खुल्न सक्छन्, त्यसैले म रहस्यका ती तीता तथ्य खोलेर आफैँलाई दुखाउन चाहन्न । उनी पैसा र सत्ता–सयलका निम्ति व्यग्र अति महत्वाकाङ्क्षी महिला भएको जानकारी सबै देशवासीलाई छ । उनको सार्वजनिक छवि यही नै हो । शेरबहादुर देउवामाथि उनी अत्यन्त हावी छिन् र आरजु हावी भएकै कारण शेरबहादुर देउवाले धेरै मित्रहरू गुमाइसकेका छन् ।

नेता देउवा र जनताको बीचमा तगारो बनेर उभिएकी आरजुले देउवाको उत्तराधिकारी बन्न अनेक कसरत गरिरहेकी छिन् । उनी देउवापछि आफू र आफूपछि आफ्ना छोरा जयवीरसिंह देउवालाई काङ्ग्रेसको कमान्डर बनाउने योजनामा छिन् । डडेल्धुरामा कर्णबहादुर मल्लको साथ नपाइने भएपछि आरजु बर्दियालाई आफ्नो राजनीतिक कर्मभूमि बनाउन प्रयत्न गर्दै छिन् । उनी र उनका छोरा योग्य र सक्षम छन् भने या शेरबहादुर देउवाकै जस्तो भाग्य लिएर जन्मिएका हुन् र काङ्ग्रेस नेता तथा कार्यकर्ताले स्वीकार गरे भने आरजु राणा र जयवीर काङ्ग्रेस पार्टीको ठूला नेता र प्रधानमन्त्री पनि बन्लान् । तर, अहिले आरजुले शेरबहादुरको काममा जसरी हस्ताक्षेप गरिरहेकी छिन् र उनको चुरीफुरी जुन रूपमा बढेको छ, त्यसले चाहिँ आरजु र जयवीरलाई देशको नेता बन्न अवरोध पैदा गर्ने सम्भावना मैले देखिरहेको छु । आफूलाई ‘लो प्रोफाइल’मा राखेको भए र राज्यस्रोतमा आरजुको आँखा र हात सबैतिर फैलिएको छ भन्ने प्रचार नभएको भए आरजुको सम्भावना धेरै थियो ।

भारतकी काङ्ग्रेस नेतृ सोनिया गान्धी पहिले भारतीय प्रधानमन्त्री राजीव गान्धीकी साधारण गृहिणी थिइन् । राजीवपछि पार्टी कार्यकर्ता र भारतीय जनताले उनलाई बलजफ्ती राजनीतिमा ल्याए । फिलिपिन्सका राष्ट्रपति ब्यान्डिट अक्विनोलाई ताइवानबाट फर्कंदा विमानस्थलमै गोली हानेर हत्या गरियो, त्यहाँका जनताले अत्यन्त ‘लो प्रोफाइल’मा बसेकी उनकी पत्नी कोराजिन अस्विनोलाई घरबाट बाहिर ल्याएर राष्ट्रपति बनाइदिए । राजा ज्ञानेन्द्रकी रानी कोमल ‘लो प्रोफाइल’मा बसेकीले उनी कहिल्यै विवादमा आइनन् । तर, राजा वीरेन्द्रकी रानी ऐश्वर्यले ज्यादा महत्वाकाङ्क्षी व्यवहार देखाएका कारण उनी बारम्बार विवादमा आइरहिन्, राजसंस्थाको बदनामीमा उनको ठूलो हात थियो र मानिसहरू ऐश्वर्यलाई पम्फादेवी उपनामले गाली गर्ने गर्दथे ।

अहिले हाम्रो यता पश्चिमतिर पनि आरजु राणालाई पम्फादेवी नामले नै सम्बोधन गर्न थालिएको छ । नयाँ पम्फादेवी भन्नेबित्तिकै हाम्रातिरका मान्छेले आरजु भनेर चिनिहाल्छन् । आरजु शेरबहादुर देउवाभन्दा क्षमतावान मानिस हुन्, उनी केही गर्ने क्षमता राख्छिन् भन्ने हाम्रो यताका मानिसलाई पनि थाहा छ । तर, शेरबहादुर दाइको बीचमा उनी आएकोचाहिँ कसैलाई पनि मन परेको छैन । आरजुले पैसालाई ज्यादा महत्व दिने गरेको पनि हाम्रो यहाँका मानिसलाई जानकारी छ । आजका दिनमा शेरबहादुर दाइको बदनामीको कारण आरजु राणा बनिरहनुभएको छ । शेरबहादुर देउवालाई थप बदनाम हुनबाट जोगाउन र आफ्नै भविष्य सुरक्षित तुल्याउन पनि आरजु राणा पछि हटेको राम्रो हो भन्ने मलाई पनि लागेको छ । देवप्रकाश त्रिपाठीले ठीक समयमा ठीक सुझाव दिएकोमा म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।

– चैतन्यराज जोशी
डोटी, हाल काठमाडौं