वीरबलको खिचडी बन्दै छ-श्रीविक्रम भण्डारी

वीरबलको खिचडी बन्दै छ-श्रीविक्रम भण्डारी


नेपाली खेलकुद र खेलाडीहरूका लागि विशेष महत्त्व राख्ने एसियाली खेलकुद प्रतियोगिता अहिले नेपालका लागि वीरबलको खिचडीजस्तै बन्न पुगेको छ । अब त्यो पाक्छ कि पाक्दैन त्यसै भन्न सकिने अवस्था छैन । समयमै पाक्यो भने केही आशा गर्न सकिने भए पनि ढिलो भयो भने त्यसको कुनै अर्थ हुने छैन । यसरी अन्योलताको कसौंडीमा १६औँ एसियाडमा नेपालको सहभागिता पाकिरहेको छ । सास छहुन्जेल आश गर्नु स्वाभाविक कुरो भए पनि अर्थ मन्त्री सुरेन्द्र पाण्डेको आसयलाई आत्मसात् गर्ने हो भने नेपालको सहभागितामा ठूलो प्रश्नचिह्न लागेको छ भन्दा अतिसयोक्ति नहोला । गत साता मन्त्री पाण्डेले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको र यस्तै अवस्था रहे नेपालले एसियाडमा सहभागिता नजाउने कुरा स्पष्ट रूपमा बोलेका थिए । उहाँको बोलीलाई कसरी लिने त्यो आफ्नो ठाउँमा भए पनि अहिले त्यो गम्भीर विषय बनेको छ । अहिलेको अवस्थामा सरकारले एसियाडका लागि केही पनि गर्न नसक्ने पाण्डेको कथनले १६औँ एसियाड नेपालका लागि एकादेशको कथामा परिणत भएको छ ।
बजेटको सपना देख्दै झर्ला र खाउँला भन्ने आशा गरेको राष्ट्रिय खेलकुद परिषद्ले अहिले नराम्रो झापड भेटेको छ । यही भदौ २७ गतेदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको राखेपको सपना चकनाचुर भएको छ । सरकारले अहिलेसम्म थप बजेट राखेपलाई उपलब्ध गराएको छैन । बिनाबजेट १६औँ एसियाडमा नेपालको तयारी कसरी अगाडि बढिरहेकोछ त्यो अहिले सबैको चासोको विषय बनेको छ ।
अहिले खेलकुदमा अत्यधिक चासोको विषय बनेको एसियाडमा नेपालको सहभागिताबारेमा एसियाली खेलकुद तयारी समितिका संयोजक तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनलाई प्रश्न गर्दा उनले निकै आक्रोश पोखेका थिए । संयोजक महर्जनले नेपालको सहभागिता अनिश्चित बन्नुमा सरकारको गैरजिम्मेवारी र नालायकीपनको पराकाष्ठा भएको बताए । राखेपले एघारौँ साग गेमपश्चात् नै १६औँ एसियाडको तयारीका लागि सरकारसँग बजेट मागेको खुलासा गर्दै सरकारको नेत ठीक नभएकै कारणले गर्दा यस्तो अवस्थाको सिर्जना भएको बताए ।
राखेपका कोषाध्यक्षसमेत रहेका संयोजक महर्जनले सरकारले एसियाडको तयारीका लागि अहिलेसम्म ६६ लाख मात्र दिएको बताए । संयोजक महर्जनले एसियाडमा नेपालको सहभागिता हुन नदिन अहिले खेलकुदकै जिम्मेवार निकायहरू र केही व्यक्ति लागेको आरोप लगाएका थिए । उनले ती व्यक्तिहरू राखेपलाई असफल पार्न ज्यान छोडेर लागेको पनि खुलासा गरेका छन् । को हुन् ती निकाय र व्यक्तिहरूभन्दा महर्जनले निकै आत्मविश्वासका साथ खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशीलजंग राणाको नाम लिएका थिए । महर्जनले यिनीहरूकै घिनौंनो खेलले गर्दा एसियाडमा नेपालको सहभागिता धरापमा परेको बताएका छन् । एसियाडमा नेपालको सहभागितालाई सघाउनुको साटो उनीहरूले नानाथरीका षड्यन्त्र गरेर सरकारलाई बजेट दिन रोक लगाएको आरोप लगाएका थिए । महर्जनले अहिलेको अवस्थाको सिर्जना हुनुलाई सुशीलजंग राणाको प्रमुख हात रहेको बताएका छन् । राणाले राखेपको वर्तमान कार्यसमितिलाई असफल पार्न एसियाडलाई बलिको बोका बनाएको र खेलाडीका विरुद्ध खुलेर लागेको खुलासा गरेका छन् । राणाले खेलकुदको मर्म बुझ्दै नबुझी गोप्य रूपमा सरकारलाई नकारात्मक सूचना प्रभाव गरेको महर्जनले दाबीसमेत गरेका छन् । राणाकै रणनीतिलाई मन्त्रालय र एनओसीले फलो गरेका कारणले अन्तिम अवस्थामा आएर यस्तो हरिविजोग भएको महर्जनको कथन थियो ।
एसियाडमा शुभारम्भदेखि नै सहभागिता जनाउँदै आएको नेपालको सहभागिता अहिले अन्योलमा परेको छ । हिजोसम्म कछुवाकै गतिमा भए पनि प्रशिक्षण गरिरहेका खेलाडीहरू अहिले दोधारको मनस्थितिमा पुगेका छन् । उनीहरू के गर्ने के नगर्ने भन्नेबारेमा कल्पना गर्नसमेत सकिरहेका छैनन् । यस्तो अवस्थामा गुज्रिरहेका र १६औँ एसियाडको तयारीमा जुटेका एक चर्चित खेलाडीसँग सोध्दा उनले नाम नराख्ने र्सतमा भने- यो त सरकारको नपुङ्सकताको ताजा उदाहरण हो । यतिबेला एउटा खेलाडीले आफ्नो खेल्न पाउने हकबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । तयारीमा जुटेका खेलाडीहरूले विचलित मानसिकताको पीडाबाट गुज्रिनुपरेको छ । खेलाडीहरूले अहिले दुई डुङ्गामा खुट्टा राखेर प्रशिक्षण गर्नुपरेको छ । यसरी गन्तव्य नै नभएको मार्गमा कहिलेसम्म होमिनुपर्ने हो त्यो निकै चिन्ताको विषय बनेको छ । यदि नेपालले १६औँ एसियाडमा सहभागिता जनाए भने त्यो नेपाली खेलकुदका लागि दुर्भाग्य हुनेछ । भर्खरै वामे सर्न लागेको खेलकुद अघोगतिमा लाग्नेे निश्चित छ ।
मन्त्री पाण्डेले एसियाडमा नेपालको सहभागितालाई प्रश्नचिह्नको घेरामा राखेपछि अहिले खेलकुदमा दस स्केलको भूकम्प गएको छ भने खेलाडीहरूको भविष्यमा काला बादलहरू मडारिन थालेका छन् । यही कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले सरकारको विरोध गर्दै यथाशीघ्र १६औँ एसियाडमा नेपालको सहभागिता निश्चित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय अनुभव बटुल्न र मुलुकको गौरव बढाउन एसियाडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यदि सरकारले खेलाडीहरूको भविष्यमाथि खेलवाड गर्न लाग्यो भने सङ्घ चुप लागेर नबस्ने महासचिव दीपक श्रेष्ठले बताएका छन् । महासचिव श्रेष्ठले खेलाडीहरू आन्दोलनमा उत्रिनुपरे त्यो मुलुककै लागि दुर्भाग्य हुने चेतावनीसमेत दिएका छन् । श्रेष्ठले अहिलेसम्म खेलाडीहरूको धर्ैयको बाँध नटुटेको बताउँदै यदि त्यस्तो अवस्था आएमा को कसरी बग्नेछन् त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
पछिल्लो समयमा सरकारले एसियाडप्रति कुनै चासो नदेखाउनु र मन्त्री पाण्डेले सार्वजनिक स्थलमा नै औंला उठाउनुले एसियाडमा नेपालको सहभागितामाथि नानाथरीका टीका-टिप्पणी हुन थालेका हुन् । राखेपले अहिलेसम्म आशा मारिसकेको छैन भने सरकारको उदासीनतालाई हेर्ने हो भने आशा गर्ने ठाउँ पनि भेटिँदैन । तर्सथ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका नाममा २५ करोड रुपैयाँ दिन सक्ने, गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको नाम मात्रको राष्ट्रिय प्रतियोगिताका लागि १० करोड दिने सरकारले एसियाडमा सहभागिताका लागि पाँच करोड दिन नसक्नुको पछाडि ठूलो षड्यन्त्र भएको संयोजक मीनकृष्ण महर्जनले ठम्याइ छ । संयोजक महर्जनले यदि सरकारले खेलकुदप्रति यस्तै घिनलाग्दो खेल खेलेमा खेलाडी चुप लागेर नबस्ने बताउँदै यदि त्यो दिन आएमा नेपाली खेलकुदका लागि दुर्भाग्य हुने स्पष्ट पारेका थिए । तर्सथ सरकारको समयमै बुद्धि पुगोस् ।

उपेन्द्र स्मृति गोल्डकप असोजमा
उर्लाबारी युवा क्लब र इनिग्मा गाइजको संयुक्त आयोजनामा दोस्रो उपेन्द्र थापा स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी महिना हुने भएको छ । विभिन्न आठ टोलीको सहभागिता रहने उक्त प्रतियोगिता असोज २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा चर्च व्वाइज युनाइटेड, धरान फुटबल क्लब, नाइट चेस क्लब, काँकटभिट्टा, धु्रबतारा स्पोर्टिङ क्लब, राष्ट्रिय जागृति क्लब, रानी टिम विराटनगर, दार्जिलिङ खर्साङ- ११ र आयोजक उर्लाबारी- ११ रहने आयोजक समितिका सचिव धनश्याम भण्डारीले बताएका छन् । अनुमानित १० लाख खर्च हुने यो प्रतियोगितालाई सफल पार्न काङ्ग्रेसका युवा नेता खड्ग फागोको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । प्रतियोगितामा विजयी टिमले ५० हजार र उपविजेता टिमले ३० हजार प्राप्त गर्नेछन् ।