बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोगद्वारा छापा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोगद्वारा छापा


चिकित्सा शिक्षा जाँचबुझ आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारी कागज पत्र नियन्त्रणमा लिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा उजुरी परेपछि आयोगले छापामारी कागज पत्र नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार, चिकित्सा शास्त्रको विभिन्न तहको परीक्षामा आर्थिक चलखेल र प्रश्नपत्र बाहिरिएको उजुरी आयोगमा परेको थियो । आयोगले प्रतिष्ठानको परीक्षा विभाग र शैक्षिक विभागको कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।

कागजात नियन्त्रणमा लिन आयोगका अध्यक्ष गौरीबहादर कार्की, सदस्य डाक्टर उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम धरान पुगेका थिए ।

आयोगका पदाधिकारीले सन २०१२ मा प्रतिष्ठानमा भएको एमडी, एमएसको परीक्षामा आर्थिक चलखेल भएको, प्रश्नपत्र बाहिरिएको र त्यसबेला प्रतिष्ठानमा उतिर्ण भएपनि नेपाल मेडिकल काउन्सीलको परीक्षामा अनुर्तिण भएको विषयमा उजुरी परेको बताएका छन । त्यसबेला प्रतिष्ठानमा प्रा डा बलभद्रप्रसाद दास उपकुलपति थिए भने प्रा डा निर्मल बराल परीक्षा डिन थिए ।