केएमसीमा म्याद गुज्रेका औषधि

केएमसीमा म्याद गुज्रेका औषधि


केएमसी नामले चिनिने सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको औषधालयमा औषधि व्यवस्था विभागले सिलबन्दी गरको छ । म्याद समाप्त भएको औषधि धमाधम प्रयोग गरिरहेको सप्रमाण फेलापरेपछि औषधालयमा सिलबन्दी गर्नुपरेको विभागले जनाएको छ ।

झापाका चारवर्षे आरुष सुवेदी उपचारका लागि केएमसी भर्ना गरिएका थिए । उनलाई म्याद सकिएको सुई दिएको पाइएपछि सोमबार नै औषधालय बन्द गरिएको हो । कम्मरमा पीप जमेकाले उपचारका लागि गत १५ गते बालक सुवेदीलाई सो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजिको सुई दिइएको पाइएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको भनाई छ । प्रारम्भिक जाँचमा बाँकी दुईवटा भाइल म्याद सकिएको पाइएको उल्लेख गर्दै उनले बालकलाई पीप सुकाउने काम गर्ने उक्त इन्जेक्सन दिने नर्ससँग कुराकानी गर्न बाँकी रहेको भन्दै खुलस्त कुरा गर्न हिच्किचाहट देखाए ।

पीडित बालकका आफन्तले घटनाबारे मन्त्रालयमा खबर गरेपछि स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ स्वयम् अस्पताल गई औषधि व्यवस्था विभागलाई जानकारी गराएका थिए । थप उपचारका लागि बिरामीलाई कान्तिबाल अस्पतालमा पठाइएको छ ।