ओलीको व्यंग्य : ‘सरकार घरमा पालिएको सुगाजस्तै’

ओलीको व्यंग्य : ‘सरकार घरमा पालिएको सुगाजस्तै’


एमाले अध्यक्ष केपी ओलीले अपवित्र गठबन्धनका रूपमा रहेको सरकार राज्यसत्ता दुरुपयोगमा तल्लिन रहेको आरोप लगाएका छन् । संविधान संशोधन प्रस्ताव पारित नहुने दाबी गर्दै ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।

प्रेस चौतारी झापाले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई चन्द्रगढीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दलीय स्वार्थपूर्तिका लागि राज्यदोहन गर्ने वर्तमान सरकार घरमा पालिएको सुगा जस्तै भएको ब्यंग्यसमेत गरे । ‘बेला न कुबेला संविधान संशोधनको रटान ओकलेर सत्तास्वार्थ अगाडि राख्ने यो सरकारले नीति र नियमको धज्जी उडाएको छ,’ ओलीले भने, ‘लोकतान्त्रिक पार्टी भन्ने तर, देश र जनतालाई घात गर्ने सम्झौता गरेर स्वार्थी राजनीति गर्ने दलहरूको गठबन्धन अपवित्र छ ।’

भरतपुर महानगरपालिकाको निर्वाचन एमालेले जितेको तर, प्रहरी प्रशासनको दुरुपयोग गरेर कांग्रेस–माओवादी गठबन्धनले जित उल्ट्याएको भन्दै उनले राजपालाई निर्वाचनमा जान नदिन वर्तमान सरकारले संविधान संशोधनको बखेडा झिकेको आरोप लगाए । ‘कुनै कुनामा बसेर एमालेविरुद्ध षड्यन्त्र गर्दैमा जनताले एमालेको पक्ष छोड्दैनन्,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘नीति र विचारमा एमालेसित अरु दलले प्रतिष्पर्धा गर्न सक्दैनन् ।’

एमालेविरुद्ध मधेसका जनता भड्काएर निर्वाचन जित्ने कांग्रेस र माओवादीको सपना चकनाचुर हुने ओलीले दाबी गरे । अध्यक्ष ओलीले संविधानसभा निर्वाचनमा दुई–तिहाई सिट जितेको झापामा स्थानीय तह निर्वाचनमा एमालेले सातवटा स्थानीय तहको प्रमुख मात्र जित्नु लाजमर्दो कुरा भएको बताए । कार्यकर्ताले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।