हरिराम दम्पतीको कथा : न सन्तान न ओत न त गाँसबास नै

हरिराम दम्पतीको कथा : न सन्तान न ओत न त गाँसबास नै


जन्मिसकेपछि यो संसारमा सुखसँगै हाँसीखुशी बाँच्न पाउँ भन्ने रहर कसको हुदैँन होला र तर सुखसँग बाच्नु त परै जाओस् एक छाक टार्न र एकरात बिताउनका लागि ओत लाग्ने ठाउँसमेत छैन बैतडी दशरथचन्द नगरपालिका– ८ का– ५८ वर्षीय हरिराम दमाईंको दम्पतीलाई ।

जन्मजात् श्रीमान् श्रीमती दुबै बोल्न नसक्ने छन् । बिहे भएको केही वर्षपछि एउटा छोरा जन्मिएको थियो तर जन्मिएको १३ दिनमै उसको मृत्यु भएपछि कुनै पनि सन्तान जन्मिएनन् । बुढेसकालको साहारा छोराछोरी नहँुदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने र कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ उनीहरूलाई ।

छिमेकीसँग मागेर दैनिकी गुजारा गरिरहेका हरिरामको दम्पती नजिकैको त्रिपुरासुन्दरी मन्दिर मै सुत्ने र मन्दिरमै दमाहा बजाइ भक्तजनबाट मागेर दैनिक गुजारा चलाउँदै आएका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत उनीहरूले फारम भरे पनि जमिन आफ्नो नाममा नहुँदा छनोटमा परेनन् । हरिराम दम्पतीले साँझ बिहान मागेरै गुजारा गर्ने गरेको स्थानीय बासिन्दा सुशीला क्षेत्री बताउनुहुन्छ ।

‘वर्षात्को समयमा नत बस्नलाई ठाउँ छ’ सानो घर थियो त्यो पनि जीर्ण अवस्थामा छ । वर्षात्को समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीय युवाले हालै एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् ।

बोल्न नसक्ने भए पनि हातको इसाराले मागेर साँझ बिहानको छाक टार्ने गरेको अर्का स्थानीय उद्घव चन्द बताउनुहुन्छ । हामीले दैनिक सकेको खाद्यान्यको व्यवस्था गर्दै आएका छौ उहाँ भन्नुहुन्छ, “हरिरामको यस्तो अवस्था हँुदासम्म पनि कसैको ध्यान पुगेको छैन ।”

गरिब र असहायलाई हेर्ने निकाय नै नभएको स्थानीयवासीको गुनासोे छ । निर्वाचनका बेला विभिन्न आश्वासन दिएर भोट मागेका जनप्रतिनिधिले समेत खासै पहल नगरेको उनीहरूको भनाइ छ । स्थानीय तहको निर्वाचनमा मतदान गरेका हरिरामको मतको कदर हुननसकेको र भोट माग्ने बेला सबै व्यवस्था गर्छु भनेका नेताहरूले खै त व्यवस्था गरेको र?

जनता आवास कार्यक्रमका लागि निवेदन दिए पनि आफू निकटका मान्छे छनोटमा परेको दशरथचन्द नगरपालिका नगरकार्यपालिका सदस्य डम्बर टमटाको आरोप छ ।

अपांगता त्यसमा पनि केही सहारा नभएको साँझ बिहान छाक टार्न समस्या भएको मान्छेको निवेदन भने स्वीकृत नहुनु दुखद हो भन्नुहुन्छ उहाँ ।

दशरथचन्द वडा नं– ८ का नवनिर्वाचित वडाध्यक्ष सुरेश सिंह थापा अहिलेको वडा परिषद्बाट हरिरामको समस्यालाई सम्बोधन गरिने बताउनुहुन्छ ।

हरिरामजस्ता गरिब असहायलाई सहयोग गर्न भनि यो ठाउँसम्म आएको हुँ उहाँ भन्नुहुन्छ , “तत्कालै हामी हरिरामलाई सहयोग गछौंँ ।” १० दिनभित्र नै हरिरामको पुनःस्थापनाका लागि नगरपालिकाले पहल चाल्ने दशरथचन्द नगरपािलकाका नगरप्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ ।

स्थानीयबासिन्दाको अनुरोधमा केही दिन अगाडि त्रिपाल भाँडाकँुडाको व्यवस्था गरिएको अब १० दिनभित्रै अस्थायी बसोबासका लागि टिनको घर बनाउनुका साथै आर्थिक सहयोग समेत गरिने उहाँ बताउनुहुन्छ

अहिलेसम्म कुनै पनि निकायले हरिरामको पीडा नदेखेकाले स्थानीय युवा जुटेर आर्थिक संकलनमा लागेका छन् । स्थानीय हिक्मत चन्दको नेतृत्वमा गठित सहयोग टोलीले हालसम्म रु आठ हजार संकलन गरिसकेको छ । सबै सरोकारवाला निकाय र स्थानीयवासीलाई सहयोगको अपिल गर्दै आगामी भदौ १ गतेदेखि हरिरामका लागि पक्की घर बनाउने तयारी भइरहेको हिक्मत बताउनुहुन्छ । रासस