देवी भन्छन्- राजनीतिक जित त मेरै हो !

देवी भन्छन्- राजनीतिक जित त मेरै हो !


एमालेबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनि हार बेहोरेका देवी ज्ञवालीले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि आफूले पदीय रुपमा हारे बेहोरे तापनि राजनीतिमा जितेको बताएका छन् ।

सोमबार बिहान एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ज्ञवालीले जनताको मन मस्तिष्कमा बस्न सफल भएको बताए ।

उनले भने, ‘राजनितिमा पद जितेर पनि राजनीति हारेको हुन्छ, पदीय एउटा जिम्मा त हारेँ होला, तर राजनीति जितेको छु ।’ उनले आगामी दिनमा निष्ठाकासाथ राजनीति गरेर जनताको विचमा जाने र अब हुने प्रादेशिक र संघिय निर्वाचन दृष्टिगत गरी अघि बढ्ने बताए ।

१९ नम्बर वडाको पुन मतदान हुनु पूर्वप्रहरीको स्कर्टिङमा पैसा बाँड्न लगाउँदै राज्य सत्ताको दुरुपयोग गरेको उनले आरोप समेत लगाए । कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले आइतबार सपथ लिएसँगै पदभार ग्रहण गरिसकेका छन् । तर एमालेबाट विजयी वडा अध्यक्ष र सदस्यले भने सपथ बहिस्कार गरे ।

१९ नम्बर वडाको मत गणनाको क्रममा मतपत्र च्यातिएसँगै गणना रोकिएको थियो । त्यो बेला सम्म ज्ञवालीको अग्रता बलियो थियो । पछि सर्वोच्चको आदेश अनुसार गत शुक्रबार पुन: मतदातन भएको हो ।