जनजातिको समारोहमा ‘हरहर महादेव’

जनजातिको समारोहमा ‘हरहर महादेव’


अखिल भारत हिन्दु महासङ्घका अध्यक्ष चन्द्रप्रकाश कौशिकले नेपाल विश्वमा एक मात्र हिन्दुराष्ट्र थियो र यो हिन्दुराष्ट्र नै रहन्छ भन्नुभएको छ । आज साउन २२ गते राजधानीमा आयोजित एक समारोहमा कौशिकले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँको भनाई थियो– ‘भारत पनि निकट भविष्यमा हिन्दुराष्ट्र बन्नेछ ।’ सम्बोधन शुरु गर्दै कौशिकले हरहर महादेवको नारा लगाउँदा सहभागीहरूले उहाँलाई साथ दिएका थिए ।

नेपाल–भारत आदिवासी जनजाति मैत्री सङ्घको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी भएका कौशिकले नेपाल र भारतका हिन्दुहरूको दुःख एकअर्काकले बुझ्नुपर्छ भन्दै अगाडि भन्नुभयो– ‘नेपाल भारतभन्दा आकारमा सानो भए पनि यसको दिल ठूलो छ । चीनले नेपाल र भुटानजस्ता मुलुकप्रति जुन दृष्टिकोण राखेको छ, त्यो हामी सबैलाई अमान्य छ ।’

सभामुख ओनसरी घर्ती प्रमुख अतिथि रहनुभएको कार्यक्रम हिन्दूराष्ट्रप्रति सकारात्मक रहेको सङ्केत पाएपछि घर्तीले छटपटिएर कार्यक्रम स्थल छोडेको अनुमान केही सहभागीले गरेका छन् ।

भारत र नेपालका जातीय समुदायबीच नागरिक स्तरमा सम्बनध सुदृढ तुल्याउने उद्देश्यबाट सामाजिक अभियन्ताहरू विनोदकुमार गुरूङ र कमलाकुमारी गुरूङ लगायतको अग्रसरतामा गठन भएको मैत्री संघको अध्यक्ष विनोदकुमार गुरुङ नै हुनुहुन्छ । सङ्घको उपाध्यक्षमा दलबहादुर गुरूङ, सचिवमा सानु गुरूङ, कोषाध्यक्षमा विनु गुरूङ र महिला विभाग प्रमुखमा कमलाकुमारी गुरुङ रहनुभएको छ । सदस्यहरूमा सोमबहादुर तामाङ, आनन्द घले, बुद्धिमान तामाङ, सुकलाल थापा मगर, खड्गबहादुर तामाङ, जीवन गुरूङ र सुनिता तामाङलगायत हुनुहुनछ ।

त्यसैगरी सङ्घको सल्लाहकारहरूमा कीर्ति पाण्डे र युगप्रसाद धमला रहनुभएको छ । भारतीय राजदूतावासका प्रतिनिधि के खम्पाको विशेष उपस्थिति रहेको सो समारोहमा सभापति विनोद गुरूङले ‘नेपाल बनाउनका लागि जनस्तरमा सामाजिक अभियान शुरु गर्न आवश्यक भएको र देशभित्र हामी आपसी सदभाव बढाउन भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ’ भन्नुभयो ।