विदेशबाट अन्न मात्र ८ अर्बको

विदेशबाट अन्न मात्र ८ अर्बको


गत आर्थिक वर्षमा विराटनगर नाकाबाट ८ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ । सो नाकाबाट ८ अर्ब ४८ करोड ९२ लाख ८२ हजार रुपैयाँ बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी ३ लाख एक हजार ७ सय ३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । सोमध्ये सबैभन्दा बढी ३ अर्ब ६६ करोड ३१ लाख ३३ हजार रुपैयाँ बराबरको एक लाख ५२ हजार ६ सय ३१ मेट्रिकटन मकै आयात भएको छ । तीन अर्ब १९ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको ७९ हजार ९ सय १३ मेट्रिकटन विभिन्न जातका चामल आयात भएको छ ।

आयात भएका यी चामल भन्सार कार्यालय भएर भित्रिएका छन् । सीमावर्ती भारतीय बजारबाट तस्करीको रुपमा भित्रिएको र सर्वसाधारणले खानका लागि ल्याउने गरेको चामलको तथ्यांकमा यसमा समावेश गरिएको छैन । भारतको जोगबनी बजारमा दिनहुँ किनमेल गर्न पुगेका कतिपयले चामल खरिद गरेर ल्याउने गरेको सहजै देखिन्छ ।

यसका साथै एक अर्ब, दुई करोड ७५ लाख ९३ हजार रुपैयाँ बराबरको ४२ हजार ८ सय १६ मेट्रिकटन गहुँ आयात भएको छ । ४८ करोड नौ लाख ५९ हजार रुपैयाँ बराबरको २१ हजार ९ सय १६ मेट्रिकटन धान आयात भएको सो कार्यालयका प्रमुख देवशरण साहले जानकारी दिएका छन् ।  यसैगरी, यो नाकाबाट नौ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको तीन हजार ९ सय ६३ मेट्रिकटन कोदो आयात भएको छ । ९० लाख २९ हजार रुपैयाँ बराबरको २ सय ६६ मेट्रिकटन जौ आयात भएको हो । गत आर्थिक वर्षमा यो नाकाबाट १६ करोड ९२ लाख रुपैयाँ बराबरका २ सय ८२ मेट्रिकटन विभिन्न जातका दाल आयात भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी, नेपालमा हाल सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक ९ अर्ब रुपैयाँको योगदान पुगेको छ । मुलुकमा वार्षिक ३० अर्बको सुन आयात हुने गरेको काठमाडौँ सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत रुपमा सञ्चालन हुँदै आएको सुनचाँदी व्यवसायलाई अझ बढी व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै यस व्यवसायको विकास र विस्तारका लागि कामपाले सक्दो सहयोग गर्ने समेत बताएका छन् ।

सुनचाँदी व्यवसायमा ज्याला, जर्ति र टलेरेन्स सामान्य विषय हो भन्दै उहाँले सुनचाँदीको काम गर्ने कालीगढलाई तालीम दिएर दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले विश्वमा नेपाललाई चिनाउने आधार सम्पदा, संस्कृति तथा बाजागाजालाई संरक्षण गर्नुपर्ने बताइन ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदीको कारोबारमा जर्ति, समिश्रण तथा टलेरेन्स (औँठी बनाउँदा सुनको मात्रा खिइएर नष्ट हुने ) २ प्रतिशतमा सीमित गर्नुपर्नेमा जोड दिए ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायमा वैज्ञानिक यन्त्रको प्रयोग हुने भएकाले उपभोक्ता ठगिने सम्भावना नरहेको दाबी गरे । काठमाडौँ सुनचाँदी व्यवसायी संघकाको कार्याक्रममा सहभागीहरुले सो कुरा बताएका हुन ।