गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्का रद्ध

गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्का रद्ध


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको जिम्मा पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीसँग विमानस्थल निर्माण परियोजनाले ठेक्का प्रक्रिया रद्ध गर्ने अन्तीम तयारी गरेको छ  । निर्माणको काममा सन्तोसजनक सुधार नभए ठेक्का रद्ध गर्नेसम्मको चेतावनीपत्र यस अगाडी पटक–पटक बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले जानकारी दिएका छन् । उनीहरुको काममा कुनै सुधार आउन नसकेको र मासिक शुन्य दशमलव ५ प्रतिशत मात्र प्रगति रहेको शर्माले बताएका छन् । निर्माण कम्पनी के कारणले काम गर्न सकिरहेको छैन ? भनेर कारण देखाउन पटक–पटक पत्राचार गरे पनि उनीहरुले कुनै सुधारका काम गर्न नसकेको शर्माको भनाइ छ ।

काम चुस्त गतिमा अघि बढ्न नसकेकाले परियोजना विकल्पको रुपमा अर्काे टेण्डर प्रक्रियामा जाने तयारी गरेको परियोजना प्रमुख शर्माले जनाए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विमानस्थल निर्माणमा ढिलासुस्ती भएको जनगुनासो बढेसंगै विभिन्न क्षेत्रबाट परियोजनामाथि निश्चित समयभित्र निर्माण कार्य सक्न दबाव बढेको छ । चिनियाँ कम्पनीले आर्थिक कारण देखाउँदै काम गर्न नसकेको परियोजना प्रमुख शर्माले बताए ।

स्थानीय सप्लायर्सहरुलाई रकम भुक्तानी नगरेको बजारमा गुनासो बढी आएपछि उनीहरुसँग काम गर्न कोही ईच्छुक नहुँदा चिनियाँ कम्पनीले लेवर लगायत आवस्यक कच्चा पदार्थसमेत जुटाउन सकिरहेको छैन । मासिक ६ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा पछिल्लो समय चिनियाँ कम्पनीले शुन्य दशमलव ५ प्रतिशतका दरले मात्र काम गरिरहेको छ । दैनिक कम्तीमा ५ सय जना मजदुरले काम गरेको हुनुपर्ने र त्यही अनुपातमा हेबि इक्युमेन्ट सञ्चालनमा आएको हुनुपर्नेमा ३०-३५ जना मजदुरबाट मात्र काम भएको छ ।

विमानस्थल निर्माणका लागि सह कन्ट्याक्टरका रुपमा नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई दिएकोमा लेनदेनमा विवाद भएपछि चिनियाँ कम्पनी आफैले विमानस्थल निर्माणको काम विगत पाँच महिनादेखि गर्दै आएको छ । काम सुस्त भएपछि चिनियाँ कम्पनीसँग ठेक्का तोडन परियोजनाले डकुमेन्टहरु तयार गरिरहेको जनाएको छ । त्यसैगरी अर्को टेण्डर प्रक्रियाका लागि पनि डकुमेन्टहरु तयार भैरहेको परियोजना प्रमुख शर्माको भनाई रहेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । ३१ डिसेम्बर २०१४ का दिन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । चिनियाँ कम्पनीसँग २०१७ डिसेम्बर ३१ सम्म निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको थियो । नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा निर्माण कार्यको जिम्मा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण कार्य सम्पन्न गर्न भैरहवाबासीले माग गरेका छन् ।