यसरी हुँदैछ बिम्स्टेक बैठकको तयारी

यसरी हुँदैछ बिम्स्टेक बैठकको तयारी


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) को १५ औँ मन्त्रीस्तरीय बैठक साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक बैठक आयोजना गर्न लागेको हो ।

भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ ।  बैठकमा भाग लिन भारतका विदेशमन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेशमन्त्री रवि करुणनायके, बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुदअली र भूटानका विदेशमन्त्री दाम्चो दोर्जे आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ ।

सोही दिन सदस्य मुलुकका बाह्य मामिला र विदेश र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) हुनेछ । परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकको नेतृत्व गर्नेछन् ।  मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपराह्न राजधानीमा बैठकको उद्घघाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ । उनले सोही दिन साँझ सदस्य मुलुकका बाह्य मामिला-विदेश-परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने बताए । तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिम्स्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुतगतिमा कार्यान्वयन गर्नेबारेमा १५औँ बैठक केन्द्रीत हुने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन् । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको थियो ।