भरतपुर महानगर प्रमुखमा रेणु, उपप्रमुखमा पार्वती

भरतपुर महानगर प्रमुखमा रेणु, उपप्रमुखमा पार्वती


भरतपुर महानगरपालिकामा भएको पनर्मतदानको अन्तिम मतपरिणाम अनुसार रेणु ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । ज्ञवाली २०३ मतले रेणुभन्दा पछाडि परेका छन् । मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना हुँदा पछाडि परेका थिए ।

यसैगरी, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका छन् भने भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् । उनलाई ४७ हजार १९७ मत प्राप्त भएको छ भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी छिन् । यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङलाई ७ हजार २५२ मत प्राप्त भएको छ ।

अन्तिम मतपरिणाम अनुसार भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीनवटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो ।

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरे पनि गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो ।