झरना खेलका हिरो भीष्मराज

झरना खेलका हिरो भीष्मराज


क्यानोनिङ अर्थात् झरना खेल नेपालमा धेरैका लागि नौलो हुन सक्छ । झरनाको पानीसँग रमाउँदै एउटा डोरीको सहायतामा खेलिने खेललाई झरना खेल भनिन्छ । नेपालमा यो खेल व्यावसायिक रूपमा शुरु भएको एक दशक पनि नाघेको छैन र अहिलेसम्म मुस्किलले आधि दर्जन कम्पनीहरू मात्र झरना खेललाई व्यावसायिक बनाउन क्रियाशील छन् । अमेरिकाका क्यानोनिङ विज्ञ रिच कार्लसन समय–समयमा नेपाल आउँछन् र इच्छुक युवाहरूलाई झरना खेलतर्फ आकर्षित गराउने गर्छन् । उनी स्पटमै पुगेर यो खेलका गाइड बन्न चाहनेहरूलाई तालिम दिने गर्छन् । यसरी गाइड उत्पादनका निम्ति रिच र केही क्यानोनिङ–प्रेमीहरूले निरन्तर प्रयास गरिरहेका भए पनि नेपालमा क्यानोनिङ गाइडको सङ्ख्या अहिलेसम्म दुई दर्जन नाघेको छैन ।

नेपालमा झरना खेलको विकासमा विगत पौने एक दशकदेखि निरन्तर समर्पित युवा व्यावसायीका रूपमा भीष्मराज थपलियालाई लिइन्छ । करिव दुई दशकदेखि जलयात्रा (र्‍याफ्टिङ)लाई मूख्य साधन बनाएर पर्यटन व्यवसायमा सक्रिय भीष्मले झरना खेलको विकासका निम्ति पनि त्यत्तिकै ध्यान दिइरहेका छन् । र्‍याफ्टिङ भन्दा रोमाञ्चकारी तर जोखिमपूर्ण मानिने झरना खेलको लागि स्पट (स्थान) पहिचान गर्ने, व्यावसायिक रूपमा खेल शुरु गर्ने र क्यानोनिङको प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने काममा भीष्म अहोरात्र जुटिरहेका छन्, भन्छन्– ‘विश्वभरिका क्यानोनिङ–प्रेमीहरूलाई नेपालमा आकर्षित गरी वर्षेनी हजारौँ–लाखौँ पर्यटक नेपाल भित्र्याउने मेरो सपना छ ।’

राज्यले पनि तपाईंको यो सपना पूरा गर्न सहयोग गरेको छ त भन्ने हाम्रो जिज्ञासामा भीष्मको भनाई छ– ‘राज्यले पनि कुनै न कुनै रूपमा सहयोग पुर्‍याउला भन्ने विश्वास हामीले गरेका छौँ । क्यानोनिङप्रति पर्यटकहरूलाई आकर्षित गर्न सक्यौँ भने राज्य पनि स्वतः यस खेलको विकासमा लागिपर्ने विश्वास मैले गरेको छु । अहिले पनि राज्यले झरना खेलको निम्ति हामीलाई सजिलैसँग लाइसेन्स उपलब्ध गराएर सहयोग गरिरहेको छ ।’

झरना खेलका लागि अहिलेसम्म करिव दर्जन स्पटको पहिचान भइसकेको छ र स्पट पहिचानमा भीष्मराजको योगदान र मिहिनेत महत्वपूर्ण छ । धरानको नमस्ते झरना, चितवनको जलवीरे लामो झरना, पोखराको घलेल, चरौँदी कृष्णभीर नजिकैको छाँगे, भोटेकोशीको न्यू जम्बो र वल्र्ड जम्बो, अपर भोटेकोशीको नाइन्टी फाइभ, काठमाडौंको सुन्दरीजल र नुवकोट तथा लमजुङ बेसिशहरको झरना क्यानोनिङका निम्ति उपयुक्त मानिएक छन् ।
झरना खेल नयाँ भएकोले पर्यटकहरूको सङ्ख्या न्युन भए पनि यसतर्फ मानिसको आकर्षण बढेर जाने विश्वासमा भीष्मराज छन् । उनी भन्छन्– जब एकपटक कोही झरना खेल खेल्छन् भने त्यसपछि पटक–पटक यो खेल खेल्न हामीले आमन्त्रण गरिरहन पर्दैन । यो खेल खेल्ने र हेर्ने दुवैलाई मज्जा आउने प्रकारको हुन्छ ।’

भीष्मराजले धरान भेडेटारनजिकको नमस्ते झरनालाई क्यानोनिङको एउटा महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिरहेका छन् । उनले आफैले स्पट पहिचान गरी व्यावसायिक प्रयोजनमा ल्याएको नमस्ते झरनामा पर्यटकहरू क्यानोनिङका लागि आउन थालिसकेका छन् । यी उत्साही युवा पर्यटन व्यावसायी भीष्मराज भन्छन्– ‘क्यानोनिङको माध्यमबाट विश्वमा नेपालको बेग्लै नाम राख्नु छ । त्यसै बगिरहेको पानीमा खेलेर मानिस रमाउँछन्, देशले कमाउँछ । त्यसैले यो झरना खेललाई एउटा उचाईमा नपुर्‍याइकन म थाक्ने छैन ।’