रेणु दाहाल महानगरपालिकाको प्रथम महिला मेयर

रेणु दाहाल महानगरपालिकाको प्रथम महिला मेयर


भरतपुर महानगरपालिकाको अत्यन्त विवादित र बहुप्रतिक्षीत निर्वाचन प्रकरण अन्ततः नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनाइएकी प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा विजयी गराउँदै पटाक्षेप हुने भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनबाट अत्यन्त ठूलो लाभ उठाएको माओवादी केन्द्रका लागि रेणुको विजय अभूतपूर्व उत्सव बन्ने भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लागि पुत्री रेणुको जीत जनयुद्ध जितेभन्दा बढ्ता खुशीको क्षण बन्ने सो पार्टीका एक केन्द्रीय नेताले बताए ।

भरतपुरबाट घटना र विचार सहकर्मी राजु सापकोटाले दिएको जानकारीअनुसार रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीलाई करिव २ सय ३५ मतले पछि पारेकी छिन् । केहीबेरमै मुलुककै महानगरपालिकाको पहिलो महिला प्रमुखका रुपमा रेणु विजयी बनेको घोषणा गरिँदै छ भने उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छिन् । यसरी मेयर र उपमेयर दुवै पदमा महिला विजयी बनेर भरतपुर महानगरपालिकाले बेग्लै इतिहास कायम गरेको छ ।