धितोपत्र बोर्ड संचालकलाई सेयर खरिदबिक्रीमा रोक

धितोपत्र बोर्ड संचालकलाई सेयर खरिदबिक्रीमा रोक


‘नेपाल धितोपत्र बोर्ड आचारसंहिता–२०७४’ लागू

नेपाल धितोपत्र बोर्डका सदस्यहरुले आफु पदमा रहँदा बोर्डबाट अनुमति प्राप्त कम्पनीको संस्थापक लगानीकर्ता तथा दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न रोक लगाईएको छ ।  बोर्डले ‘नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता–२०७४’ लागू गर्दै बोर्डको सदस्य रहेको अवस्थामा सेयर खरिद बिक्री तथा संस्थापक सेयरधनी बन्न रोक लगाएको हो । बोर्ड सदस्यले यस अघि आफुले प्रनिधित्व गरेको संस्थाको छलफल तथा सो सम्बन्धी निर्णयमा समेत सहभागी हुन नपाउने व्यवस्था गरेको छ ।

आचारसंहिता अनुसार बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङठित संस्था वा धितोपत्रको दर्ता तथा निष्काशन गरेका सङठित संस्थाको आधारभूत सेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्ता छलफलमा सहभागी हुन पनि बन्देज गरिएको छ । बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङठित संस्था वा धितोपत्रदर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन समेत पाउने छैन ।

आचारसंहिता अनुसार बोर्ड सदस्यले ओहदाको कर्तव्य पालना गर्दा आफूलाई थाहा हुन आएको कुनै कुरा वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङकलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहित हुने गरी सञ्चार माध्यम वा दोस्रो व्यक्तिलाई जानकारी दिन समेत बन्देज गरेको छ । बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक लिन पाइनेछैन । यसैगरी बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कूनै सदस्यबाट समेत लिन समेत नपाउने नियम लागु गरिएको छ ।