विदेशी प्रशिक्षकका कारण देशकै बेइज्जत

विदेशी प्रशिक्षकका कारण देशकै बेइज्जत


फिलिपिन्समा सम्पन्न एसियन बक्सिङ कन्फेडेरेसन जुनियर च्याम्पियनसीप (एसवीसी)मा नेपालले शर्मनाक पराजय भोगेको छ । उक्त जुनियर प्रतियोगितामा नेपालका ओम परियार भुटानका खेलाडीसँग पाँच सुन्यले पराजित भएका थिए । भुटानी खेलाडीसँग पराजयपछि परियार पहिलो राउण्डबाटै बाहिरिए । परियारले ५० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सहभागिता जनाउनुअघि नेपाल बक्सिङ संघले काजिकिस्तानबाट विदेशी प्रशिक्षक झिकाएको थियो । उनै प्रशिक्षकले परियारलाई प्रशिक्षित तुल्याएर फिलिफिन्स लगेका थिए । ज्ञातव्य छ, ती विदेशी प्रशिक्षकलाई बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा)को उत्कृष्ट प्रशिक्षक भन्दै नेपाल ल्याएको थियो । संघका मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र अध्यक्ष राम अवालेले प्रेस सम्मेलनमा सो जानकारी दिएका थिए ।

तर, यतिबेला आएर उक्त कुरा झुठो सावित भएको छ । विदेशी प्रशिक्षक आइवाको नभई लोकल प्रशिक्षक प्रमाणित भएको छ । जब परियार बक्सिङको रिङमा उत्रिए उनलाई निर्देशन दिने कोही थिएन । आइवाको मान्यता प्राप्त अर्थात स्टार प्रशिक्षक नभएकै कारण काजिकिस्तानी प्रशिक्षकलाई ‘सेकेण्ड’ अर्थात् रिङमा जानबाट बन्चित गरिएको थियो ।

नेपालमा आइवाबाट मान्यता प्राप्त ‘वानदेखि थ्री स्टार’सम्मका प्रशिक्षक भए पनि ती कुनै पनि स्टार नभएका विदेशी प्रशिक्षकलाई कसरी अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रशिक्षक बनाएर बक्सिङ संघले फिलिपिन्स पठायो त्यो रहस्य र चर्चाको विषय बनेको छ । साथै कसको निर्देशनमा बक्सिङ संघले यस्ता असक्षम प्रशिक्षकलाई नेपालको विदेशी प्रशिक्षक बनाउन सफल भयो त्यो खोजीको विषय बनेको छ । यहाँ बक्सिङ संघको ठूलो चुक भएको चाहिँ प्रमाणित भएको छ ।