नेपाल र मोरक्कोबीच दौत्य सम्बन्ध प्रगाढ हुने

नेपाल र मोरक्कोबीच दौत्य सम्बन्ध प्रगाढ हुने


आपसी परामर्श र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र मोरक्को अधिराज्यबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । साउन १९ गते बिहिबार काठमाडौंमा भएको उक्त सहमतिपत्रमा मोरक्कोका तर्फबाट राजदूत मोहम्मद मालिकी र नेपाल सरकारका तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागीले हस्ताक्षर गरेका थिए ।

सम्झौताबमोजिम नेपाल र मोरक्को दुबैले आपसी सम्बन्ध थप मजबूत पार्दै द्विपक्षीय सहयोगका आयामहरू खोज्ने, उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने र आपसी चासोका विषयहरूमा विशेषतः राजनैतिक, आर्थिक, व्यापार, लगानी, बित्तीय सहयोग, औद्योगिक, शैक्षिक, सामाजिक, खेलकूद, वैज्ञानिक र प्राविधिक क्षेत्रमा आपसी परामर्श गर्ने सहमति भएको छ । नेपाल र मोरक्कोबीच द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलामा समेत आ–आफ्ना धारणाहरू आदान–प्रदान गर्ने सहमति भएको छ ।

नेपाल र मोरक्कोबीच दौत्य सम्बन्धको स्थापना सन् १९७५ मै भएको भए पनि आपसी सहयोगका पूर्ण आयामहरू खोज्ने कार्यको थालनी भने हुन बाँकी नै थिए । उत्तरी अफ्रिका र युरोपबीच अवस्थित मोरक्को अति दू्रत गतिमा बढिरहेको अर्थतन्त्र हो ।

नेपालले मोरक्कोसँग विशेषतः रासायनिक मल, कृषि, पर्यटन र ती क्षेत्रका लागि आवश्यक प्राविधिक मानव संशाधनको विकासका लागि सहयोगको अपेक्षा गर्न सक्छ । किनकि मोरक्को संसारकै सबैभन्दा ठूलो रासायनिक मल उत्पादक र निर्यातकमध्येमा पर्दछ । फोस्फेटजन्य खनिज पदार्थलाई प्रशोधन गर्दै रासायनिक मल र फोस्फोरिक एसिड उत्पादन र निर्यात गर्नु मोरक्कोको मुख्य आर्थिक गतिविधिमा पर्दछ । शिक्षा, पर्यटन र कृषि मोरक्को र नेपाल दुबैले ध्यान केन्द्रित गर्नुपर्ने प्रमुख क्षेत्र रहेका छन् ।

मोरक्कोले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति बढाउने र तालिम दिने विषयमा पनि सहमति जनाएको छ । आर्थिक उन्नतिका लागि अपरिहार्य मानव संशाधन मानवीय मूल्य अभिवृद्धिका साथ हर क्षेत्रमा आपसी सहयोग बढाउन दुबै देश राजी भएका छन् ।

नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत मोहम्मद मालिकी दुई देशबीच सम्पन्न आपसी सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर क्रममा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन, माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्र सचिव शङ्करदास बैरागीसँग भेट वार्ता गरिसकेका छन् ।
मोरक्को अधिराज्यको कुटनैतिक टोलीलाई स्वागत गर्ने क्रममा साउन १९ गते साँझ मोरोक्को अधिराज्यको अवैतनिक वाणिज्य दूतावास (कन्सुलेट)ले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत मालिकीले नेपाल र मोरक्को भौगोलिक रुपमा ज्यादै टाढा रहे पनि आत्मिक रुपमा अत्यन्त नजिक रहेको र दुई देशबीच दौत्य सम्बन्धको स्थापनादेखि नै अत्यन्त निकट र सौहार्दपूर्ण मैत्री सम्बन्ध रहँदै आएको बताए । सो अवसरमा मोरक्कोका ‘गोल्डन सितारवादकका रुपमा परिचित प्रसिद्ध सितारवादक हज युनिसको नेतृत्वमा साङ्गीतिक प्रस्तुति गरिएको थियो । युनिसका साथ श्रीमती विद्या शाह लगायतका केही भारतीय ख्यातिप्राप्त सङ्ीतज्ञ एवम् गायक गायिकहरूको समूहले मोरक्कोको साङ्गीतिक प्रस्तुति गरेका थिए । मोरक्कन सङ्गीत फाँटका सुप्रसिद्ध सङ्गीतज्ञ युनिसले आफ्नो कला थुप्रै एशियाली, युरोपेली, अफ्रिकी, अरब र अमेरिकी राष्ट्रहरूमा प्रस्तुत गरिसकेका छन् ।

यसैक्रममा मोरक्कोका राजा मोहम्मदको गद्दी आरोहणको १८ औं वार्षिकोत्सव अवसरमा राजदूत मालिकीले विहिबार बिहान मोरक्कोको अवैतनिक वाणिज्य दूतावासमा मोरक्कोको झण्डोत्तलन गरे । थापाथलीमा अवस्थित मोरक्कोको अवैतनिक वाणिज्य दूतावासले नै मोरक्को अधिराज्य र नेपालबीच दौत्य सम्बन्धका विविध विषयमा कार्य गर्दै आइरहेको छ ।

नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक मानार्थ महावाणिज्यदूत वसन्त कुमार चौधरीले मोरक्कोले गरेको नवीनतम् प्रयोग एवम् प्रगतिबाट नेपालले पनि नयाँपन सिक्न सक्ने र मरुभूमिमा रहेको एक मित्रले हिमालयमा रहेको अर्को मित्रलाई जीवनका नयाँ अध्यायहरू देखाइरहेको बताए । आउँदा वर्षहरूमा नेपाल र मोरक्कोबीच विद्यमान दौत्य सम्बन्धलाई थप दरिलो पार्न आफू कटिबद्ध रहने प्रतिबद्धता समेत मानार्थ महावाणिज्यदूत चौधरीले दोहोर्‍याए ।