अहिलेको शिक्षा प्रणाली कामविहीन : केपी ओली

अहिलेको शिक्षा प्रणाली कामविहीन : केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको शिक्षा प्रणाली कामविहीन भएको बताएका छन् । उनले भद्रगोल शिक्षाका कारण वेरोजगारहरु उत्पादन भइरहेको भन्दै अवको शिक्षा जीवन, दर्शन र व्यवहारिक बनाउनुपर्ने बताए ।

उनले भने ‘व्यवहारिक शिक्षा हुनुपर्छ अनिमात्र उपलव्धि हुन्छ अहिले मास्टर डिग्री गरेकाहरु पनि काम नपाएर बेरोजगार भइरहरेका छन् यसैबाट थाहा हुन्छ अहिलेको शिक्षा कति प्रभाकारी छ भन्ने कुरा ।’ व्यवहारिक शिक्षाको खाचो रहेको भन्दै ओलीले आफुले राजानीति नगरेर संगीत शिक्षा पढेको भए ५ कक्षा पनि पास नहुने अनुभव सुनाए ।

पार्टीको भातृ संगठन अनेरास्ववियुले शुक्रबार आयोजना गरेको ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले जीवनबाट पृथक भएको शिक्षाको अर्थ नहुने बताएका हुन् । उनले मुलुकलाई चाहिने डाक्टर, पाईलट, ईन्जिनियर कति चाहिने हो त्यो आवश्यक्ता अनुसार उत्पादन गर्नुपर्ने र त्यसका लागि ध्यान दिनुपर्ने पनि बताए ।

एमाले नेता रविन्द्र अधिकारीले शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा शिक्षाविदहरु मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला र हरि लम्साल टिप्पणी गरेका थिए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले मुलुकका ७० प्रतिशत नीजि विद्यालय एमालेले चलाएको बताएका थिए ।