केरुङ नाकामा एकदिने पास दिन चीन सहमत

केरुङ नाकामा एकदिने पास दिन चीन सहमत


केरुङ नाकाबाट व्यापार सहज गर्न नेपालीलार्इ एक दिने पास दिन चीन तयार देखिएको छ। नेपाल–चीन सीमा सुरक्षासम्बन्धी शनिबार जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकमा चीनको जिलोङ काउन्टीका कर्णेल गाओ हुइहाइले दुवै पक्षद्वारा केन्द्रीयस्तरमा पहल गरी सहमति भएमा ‘वान डे पास’ लागू गर्न सकिने बताए।

उनले तेस्रो राष्ट्रका व्यक्तिसमेत आवतजावत गर्न मिल्नेगरी नाका सञ्चालन गर्ने घोषणा भइसकेको र केही समयपछि कार्यान्वयनमा ल्याउन दुबै पक्षबीच छलफल गरेर टुंगोमा पुग्न सकिने बताए। प्रजिअ चोमेन्द्र न्यौपानेले एकदिने पास उपलब्ध गराउन चिनियाँ पक्षसँग आग्रह गरेका थिए।

बैठकमा रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ ।बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, वन्यजन्तुका अंग, सुनलगायत गैरकानुनी तवरले ओसारपसार हुन नदिन जाँच कडाइ पारी एकआपसी सूचना आदानप्रदान गर्ने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।

आम किसानको हितलाई मध्यनजर गरी नेपालमा उत्पादित सागसब्जी, मासुजन्य पदार्थ र विभिन्न किसिमका तरकारीजन्य वस्तु चीनको जिलुङ (केरुङ) निकासी गर्न केन्द्रीयस्तरको पहल कदमीका लागि प्रजिअले छिट्टै समन्वय संयन्त्र तयार पार्ने निर्णय गरिएको बैठकमा नेपाल तथा चीनका भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा निकायसमेतका अधिकारी सहभागी भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। रासस