तोकिएको राजस्व संकलन चुनौतिपूर्ण : कार्की

तोकिएको राजस्व संकलन चुनौतिपूर्ण : कार्की


आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । उनले कर प्रशासनले परिश्रमका साथ काम गरेकै कारण लक्ष्य पूरा गर्न सफल भएको बताए । चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य पनि चुनौतिपूर्ण रहेकोले मेहनत गर्न निर्देशन दिए । विभागलाई चालु आर्थिक वर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौति पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न महानिर्देशक कार्कीले निर्देशन दिए । महानिर्देशक कार्कीले कार्य योजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिदै राजस्व प्रशासनमा काम गर्ने प्रत्येक कर्मचारीको क्रियाकलाप सदाचारियुक्त हुनुपर्ने बताए ।

आर्थिक वर्ष २०७३/०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रहेकोमा २ खर्व ५८ अर्व १७ करोड ४९ लाख ८५ हजार रुपैयाँ संकलन भई लक्ष्यको तुलनामा १ सय ११ प्रतिशतको प्रगति हासिल गरेको विभागले जनाएको छ ।  गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । शिर्षकगत रूपमा आयकर तर्फ १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ ४७ अर्व २१ करोड ५४ लाख २३ हजार रुपैयाँ संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १ सय १६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १ सय ३ प्रतिशत र अन्तशुल्क तर्फ १ सय ५ प्रतिशत रहेको छ । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ७३ करोड ९७ लाख २५ हजार र ८६ करोड ३३ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । विभागले आर्थिक वर्ष २०७३/७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको जनाएको छ ।