भारतीय विदेशमन्त्री यही महिना नेपाल आउँदै, पछि मोदी पनि आउने

भारतीय विदेशमन्त्री यही महिना नेपाल आउँदै, पछि मोदी पनि आउने


भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही महिनाको अन्त्यतिर नेपाल आउने भएकी छिन् । साउन २६ र २७ मा नेपालमा हुने बिमस्टेकको विदेशमन्त्री स्तरीय बैठकका लागि उनी नेपाल आउन लागेकी हुन् । मृगौला ट्रान्सप्लान्टपछि उनको यो पहिलो विदेश भ्रमणको हो ।

स्वराजले गत डिसेम्बरमा मृगौलाको अपरेशन गरेकी थिइन् । त्यसयता उनी मन्त्रालयको काम तथा विदेशी पाहुनाको आतिथ्य गर्नमा नै व्यस्त थिइन् । सन् २०१७ को अन्त्यतिर हुने बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोओपरेसन (बिमस्टेक) सम्मलेनको तयारी स्वरुप यो बैठक आयोजना गरिएको हो ।

उक्त सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आउँदैछन् । उनी पछिल्ले पटक सन् २०१६ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । त्यसपछि उनले कुनै पनि विदेश भ्रमण गरेकी थिइनन् ।

सार्कको विकल्पको रुपमा मोदी सरकारले पछिल्लो समय विमस्टेकलाई बढी प्राथमिकता दिइरहेको छ । पाकिस्तानलाई अलग्याउने रणनीति स्वरुप बिमस्टेक मोदी सरकारको प्राथमिकतामा परेको छ । यही वर्ष बिमस्टेक स्थापना भएको दुई दशक पनि पूरा हुँदैछ ।

यस पटकको सम्मेलनमा मोदी सरकारले विस्तारित मोटर वाहन सम्झौता गर्ने तयारी गरेका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसबाट बंगलादेश, भूटान, भारत र नेपालबीच सडक सञ्जाल निर्माण गर्ने भारतको उद्देश्य रहेको छ । यसलाई बिबिआइएन एमभिए पनि भनिने गरेको छ । क्षत्रीय कनेक्टिभिटीमा भारतले पछिल्लो समय जोड दिँदै आइरहेको छ । एजेन्सी