होमस्टे सञ्चालनका गर्न १३ लाख हस्तान्तरण

होमस्टे सञ्चालनका गर्न १३ लाख हस्तान्तरण


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित खैरकन्द्रा सामुदायिक घरवास ‘होमस्टे’ स्थापनार्थ रु १३ लाखको पूँजी कोष शनिबार हस्तान्तरण गरिएको छ । त्रिशक्ति मध्यवर्तीे उपभोक्ता समितिको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमअन्र्तगत होमस्टे स्थापनाका लागि पूँजी कोष हस्तान्तरण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले रु १३ लाखको चेक होमस्टेका अध्यक्ष पुरन चौधरीलाई हस्तान्तरण गर्दै होमस्टे स्वरोजगारको माध्यम भएकाले पर्यटन व्यवसायलाई बढावा दिई आर्थिकरुपमा समृद्ध बन्न सघाउने बताउनुभयो । पूँजी कोषमार्फत प्राप्त रकमको लक्षित कार्यका लागि खर्च गरी सदुपयोग गरिनु पर्ने उहाँले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले गाउँमा बसेकै आधारमा पर्यटकको सेवा गर्नुपर्ने भएकाले दिगो पर्यटनको आधार होमस्टे हो भन्नुभयो ।

सञ्चालन हुन गइरहेको होमस्टेबाट थारु गाउँ नजिकै निकुञ्ज क्षेत्रमा पर्यटकले घाँसे मैदान, सिमसार क्षेत्र, ताल तलैया र जीवजन्तुको अवलोकनसँगै थारु संस्कृति र रहनसहनसँग घुलमिल हुने मौका पाउने छन् । उहाँले भन्नुभयो – “यसबाट पर्या पर्यटन व्यवसायले फस्टाउने मौका पाउने छ ।” लोप हुँदै गएको संस्कृति जोगाउन, मौलिक पहिचान स्थापित गर्न र ऐतिहासिक वस्तुको संरक्षणमा योगदान दिनका लागि होमस्टे गतिलो माध्यम हुने बताइएको छ ।

पूँजी कोषको रकम होमस्टे सञ्चालनका लागि पैँचोका रुपमा वितरण हुने र पालैपालो न्यून ब्याजदरमा लगानीकर्ताले लगानी गर्न पाउने छन् । तत्कालका लागि १० घरघुरीले होमस्टेमा आउने पर्यटक राख्नका लागि नयाँ घर निर्माण गरेका छन् । दर्ता प्रक्रियासँगै विधान, निर्देशिका निर्माणको काम पूरा भएकाले होमस्टे आउँदो हिउँददेखि शुरु हुने बताइएको छ । रासस