महान्यायाधिवक्ताको हत्यारा अठ्ठाइसलाई मृत्युदण्ड

महान्यायाधिवक्ताको हत्यारा अठ्ठाइसलाई मृत्युदण्ड


सन् २०१५ मा इजिप्टका एक जना सरकारी पूर्वमहान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेकोे एएफपीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार यस फौजदारी मुद्दाको सिलसिलामा अन्य पन्ध्र अभियुक्तलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस वर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजाय समेत तोकिएको छ ।

शनिबार सजया सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो । यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा यसै फौजदारी अदालतले एकतीस जना अपराधीहरुलाई मृत्युदण्डको सजाय दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाजति अघि ग्य्राण्ड मुफ्ति (मुलुकको सर्वोच्च इस्लाम धर्माधिकारी) कहाँ पेश गरेको थियो ।

इजिप्टमा विद्यमान इस्लामिक कानून बमोजिम जटील तथा सङ्गीन अपराध बापत अदालतले दण्ड सजाय तोकेपछि ग्य्राण्ड मुफ्तिको सहमति लिनु अनिवार्य हुन्छ । प्रस्तुत मुद्दामा अदालतले एकतीसजना अपराधीहरुलाई मृत्युदण्डको सजाय दिएकोमा ‘ग्य्राण्ड मुफ्तिबाट अठ्ठाइसको मात्र अनुमोदन भएको जनाइएको छ ।

ज्ञातव्य छ, सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीहरुको एक समूहले कार बम बिस्फोटन गराई उनको बिभत्स हत्या गरेका थिए । त्यस बखत यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई (गिजा पपुलर रेसिस्टेन्स) भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो ।

हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जनाजति अपराधीहरुलाई पक्रिइ तिनीहरु उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये एकजनाको कालगतिले मृत्यु भइसकेको छ ।