चन्द्रागिरि हिल्स र यती एयरलान्सले गरे यस्तो सम्झौता

चन्द्रागिरि हिल्स र यती एयरलान्सले गरे यस्तो सम्झौता


चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बीच सेवाग्राहीलाई छुट लिने–दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार यती एयरलाइन्समार्फत हवाइ यात्रा गरेका यात्रुले हवाई यात्राको बोर्डिङ पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ भने चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना केसीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७४ श्रावण १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुने बताइएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु नहुने चन्द्रागिरि हिल्स लि.ले जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।