एमालेको राष्ट्रवाद सत्तामा जाने भर्‍याङ मात्र : डा. महत

एमालेको राष्ट्रवाद सत्तामा जाने भर्‍याङ मात्र : डा. महत


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेकपा एमालेको राष्ट्रवाद सत्तामा जाने भर्‍याङ मात्र हो भन्दै कम्युनिष्टहरुले नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक र पुरानो पार्टीलाई राष्ट्रवाद सिकाउन नपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसका संस्थापक एवम् महामानव बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस बनेपा नगर समितिद्वारा बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.महतले भन्नुभयो– बीपीले स्थापना गरेको र नेपालमा प्रजातन्त्रका लागि करिब सात दशक लडेको काङ्ग्रेसलाई एमालेले राष्ट्रवाद सिकाउनु पर्दैन ।

त्यस समयमा बीपी कोइरालालाई पनि नेपालका कम्युनिष्टहरुले राष्ट्रवादमा प्रश्न उठाउने गरेको प्रसंग स्मरण गर्दै अहिले भने बीपीजस्तो राष्ट्रवादी र कुशल बिचारक नेता नेपालमा अहिलेसम्म नजन्मिएको र उहाँको प्रजातान्त्रिक समाजवाद लागू गर्न सकेमा नेपालमा कम्युनिजम नै नचाहिने भाषणा तिनै कम्युनिष्ट नेताहरुले गर्न थालेको डा. महतले बताउनुभयो ।

नेता डा.महतले पहिला बाबुराम भट्टराईले सरकारलाई दिएको ४० बुँदे मागपत्रमा नेपालमा भारतीय लगानी नस्वीकार्ने, भारतीय फिल्म चल्न नदिने मात्र नभई भारतका विरुद्ध सुरुङ्ग युद्ध नै छेड्ने भनेकोमा पछि उहाँ आफै प्रधानमन्त्री हुदा भारतसँगै बिप्पा सम्झौता गर्नुभयो भन्दै नेपाली कम्युनिष्टहरुको काम काङ्ग्रेसलाई गाली गर्ने र त्यसैको भ¥याङ बनाएर आफूहरु सत्तामा उक्लिनेमात्र भएको बताउनुभयो ।

यतिखेर नेकपा एमालेले उठाएको राष्ट्रियताको नारा पनि त्यो भन्दा फरक नभएको डा. महतले बताउनुभयो । नेपाली काङ्ग्रेस सत्तामा कसरी पुग्यो भन्ने मात्र तनाव एमालेका नेताहरुमा भएकोले कसरी सत्तामा जाने भन्ने तनावकै कारण उनीहरुबाट यो राष्ट्रवादिताको नारा यतिखेर आएको उहाँले बताउनुभयो ।

बीपी कोइरालाले दुई ठूला छिमेकी नेपाल र चीनसँगको सन्तुलित र अर्थपूर्ण सम्बन्ध कायम गर्न सक्नुभएको बताउदै डा.महतले भन्नुभयो– उहाँकै प्रजातान्त्रिक संस्कारको अनुशरण गर्दै नेपाली काङ्ग्रेसले पनि छिमकीसँगको सम्बन्धलाई सडकमा नाराबाजी र त्यसैका आधारमा सत्तामा जाने माध्यमका रुपमा नभई कूटनीतिक क्षमताका आधारमा विकास गरिरहेको बताउनुभयो ।

आफू परराष्ट्रमन्त्री हुँदा भारत परस्त भनेर अनर्गल प्रचार गरेका एमालेहरुले पछि चीनसँग ओबोरजस्तो महत्वपूर्ण सम्झौता गर्नुका साथै भारत र चीनसँग नेपालले राम्रो कूटनीतिक सम्बन्ध विकास गरेका कारण चुप लाग्न बाध्य भएको प्रसंग पनि नेता डा प्रशाशशरण महतले उल्लेख गर्नुभयो ।

नेता डा.महतले बीपी कोइराला नेपालको मात्र नभएर एसियाकै नेता हुनुहुन्थ्यो भन्दै नेपाली काङ्ग्रेसले हामीमा पनि केही कमी कमजोरी छन् भन्ने स्वीकार गरेर अघि बढ्न र बीपीको प्रजातान्त्रिक समाजवादी बिचारलाई नेपालमा मात्र नभएर संसारमै पु¥याउन सक्ने धारणा राख्नुभयो ।

नेता डा महतले हाल देशमा जारी नै रहेको निर्वाचनको वातावरण सेलाउन नपाउँदै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– संविधानको कार्यान्वयन र संघीयतामा प्रवेश गर्न आगामी माघ ७ गतेभित्र सबै तहका निर्वाचनहरु सक्नु अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले देशका सबै ऐतिहासिक परिवर्तनमा नेपाली काङ्ग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र यतिखेर पनि नेपाली काङ्ग्रेसकै नेतृत्वको सरकार रहेकोले पनि निर्वाचन निर्धारित समयमै सम्पन्न हुनेमा नेपाली जनता आशावादी रहेका बताउनुभयो ।

उहाँले नेकपा एमालेले स्थानीय निर्वाचपछि ठूलो पार्टीको प्रोपोगाण्डा गरेकोले कतिपय काङ्ग्रेसका कार्यकताहरु हारको मानसिकतामा रहेको आफूले पाएकोले पपुलर मतको आधारमा एमाले काङ्ग्रेसभन्दा ३०-४० हजार भन्दा धेरै कम नरहेकोले उच्च मनोबलका साथ आगामी निर्वाचनहरुमा काम गर्न सबै कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

देशमा अझै महत्वपूर्ण र ठूला निर्वाचनहरु बाँकी नै रहेकोले परिवर्तनबाट हाल प्राप्त प्रतिफलहरुलाई जोगाइराख्न ती चुनावसम्म प्रमुख दलबीच यस्तो प्रतिस्प्रर्धा नभएर समन्वयका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।