हार्मोनियम माइलाका नातिका साथ कुवेर -राजन घिमिरे

हार्मोनियम माइलाका नातिका साथ कुवेर -राजन घिमिरे


यो त्यसबेलाको कुरा हो, जब श्री ३ जुद्धशमशेर राणाको पियानो बिग्रियो । बेलायतबाट ल्याएको पियानो मर्मत गर्ने मानिस कोही भेटिएनन् । पियानो केही समय त्यत्तिकै थन्कियो । एक दिन कसैले जुद्धशमशेरलाई भनिदियो, ‘न्युरोडतिर हार्मोनियम माइला नाम गरेका कालीगढ छन्, उनले महाराजको पियानो मर्मत गर्न सक्छन् ।’

हार्मोनियम माइलालाई दरबार झिकाइयो । नभन्दै केही घन्टामै उनले पियानो ठीक पारिदिए । शानसँग पियानो बजाउँदै जुद्धशमशेरले भने, ‘तिमीले मर्मत गरेपछि त यसले पहिलेभन्दा राम्रो आवाज दियो हामोनियम माइला ।’

न्युरोडमा हार्मोनियम माइलाले बाजागाजाको पसल खोलेका थिए, जुन पसल नै नेपालको पुरानो वाद्ययन्त्र पसल हो । अहिले हार्मोनियम माइला त छैनन्, तर उनका पाँच नातिले हजुरबुबाको पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । सोही क्रममा माइलाका नातिहरू राजेश्वर, विजेश्वर, रामेश्वर, परमेश्वरले वाद्ययन्त्र, रेकर्डिङ स्टुडियो र म्युजिक कम्पनीसमेत चलाइरहेका छन् ।

राग म्युजिक कम्पनी उनीहरूले हालै मात्र स्थापना गरेका हुन्, जसको पहिलो एल्बमस्वरूप कुवेर नेपालीको ‘तिमीलाई सम्भिmएर’ बजारमा आएको छ । २०३० भदौ ८ गते इलाम, चिसापानी भन्ने ठाउँमा बुबा कृष्णबहादुर बराइली -नेपाली) र आमा पूर्णकुमारी गुरुङ (नेपाली)को कोखबाट जन्मिएका कुवेर भने सानै उमेरदेखि गीत-सङ्गीतमा चासो राख्थे ।

रोदी र देउसीमा हुरुक्कै हुन्थे । कुवेरले शिक्षा क्षेत्रलाई भने माध्यमिक तहमै बिट मारे । रेडियोलाई आधार बनाएर गीत सुन्ने क्रममा स्वरसम्राट नारायणगोपालको स्वरबाट प्रभावित भएर यस क्षेत्रमा प्रवेश गरेका कुवेरको स्वर पनि कर्णप्रिय छ । महाराजगञ्ज, काठमाडौंको आस्था कलाकेन्द्रबाट शास्त्रीय सङ्गीतको समेत ज्ञान लिएका कुवेरले ‘नझार आँसु, हे मेरी प्रिय’ बोलको गीत २०५५ सालमा रेडियो नेपालमा रर्ेकर्ड गरेका थिए । उनको ‘झापा बिर्तामोड’ भन्ने एल्मब बजारमा आइसकेको छ ।

‘तिमीलाई सम्झेर’चाहिँ कुवेरको लोक-आधुनिक एल्बम हो । जसमा आठवटा कर्णप्रिय गीत समावेश । यसरी हार्मोनियम माइलाका नाति र कुवेरको संयुक्त प्रस्तुति ‘तिमीलाई सम्झेर’ बजारमा दिन प्रतिदिन लोकप्रिय भइरहेको छ ।

सिग्रेट नपाउँदा मनीषाको रडाको

लगभग दुई दशकपछि फेरि मनीषा कोइराला नेपाली सिनेमामा देखापर्ने भएकी छिन् । हुन त यसअघि पनि उनलाई आफ्नो सिनेमामा खेलाउन अरूहरूले पनि प्रयास नगरेमा होइनन्, तर सफलता भने शाहीकालकी मन्त्री दुगा पोखरेललाई मात्र हात लाग्यो । शाहीकालका मन्त्री अर्थात् मनीषाका पिता प्रकाश कोइराला र दुगा पोखरेलबीचको सम्बन्धका कारण मनीषा नायिका बनिन् चलचित्र धर्मामा ।

धर्मामा मनीषाको जोडी बनेका छन् नायक राजेश हमाल । यो चलचित्रको प्रायः छायाङ्कन भने पोखरामा नै सकिएको थियो र छायाङ्कनको क्रममा भने मनीषाले निकै रमाइलो गर्ने अवसर पनि पाइन् पोखरामा । बलिउडकी एक जमानाकी चलेकी नायिकाकै हैसियतमा पोखराको शानदार होटल फूलबारी रिसोर्टमा राखेको थियो चलचित्र धर्माको युनिटले मनीषालाई ।

हुन त मनीषा चलचित्रको छायाङ्कनका लागि पोखरा गएकी थिइन् तर उनी निकै शानका साथ आफ्नो माता-पिता र भाइका साथ फूलबारीमा बसिन् । सुटिङको क्रममा साँझ पाँच बज्नासाथ मनीषाको सुटिङ प्याकअप गरिहाल्नु पर्दथ्यो र होटल पुग्नासाथ उनी निकै मस्तमा हुन्थिन् । फूलबारीमा जति धेरै वाइन र चुरोटमा रकम सकाए तापनि मनीषा सुटिङमा भने कहिले पनि चुरोट पिउँदिनथिन् । मनीषा पोखराको फूलबारी रिसोर्टमा जम्मा तीन दिन मात्र बसेकी थिइन् । तर त्यो तीन दिनमा उनले पिएको वाइन र चुरोटको बिल भने चलचित्र निर्माताले ६० हजार तिरेको थियो । जुन रकम सामान्य नेपाली नायिकाले एउटा चलचित्र खेलेबापत पाउने पारिश्रमिक हो । सुटिङ युनिटका अनुसार मनीषा मार्लोबोरो लाइट पिउने गर्थिन् भने एकपटक सो चुरोट सकिएको जानकारी फूलबारी रिसोर्टका कर्मचारीले गराएका थिए, मार्लोबोरो लाइट ल्याए उनले । यो जानकारी पाएपछि मनीषाले केही समय होटलमा नै रडाको मच्चाएकी थिइन् ।

यसरी अत्यधिक मदिरा र चुरोट सेवन मनीषाको पुरानै विशेषता मान्छन् जानकारहरू । यस्तै व्यवहारका कारण उनी बलिउडमा पनि थुपै्र सिनेमाहरूबाट निकालिएकी थिइन् । मनीषालाई दिनमा तीनबट्टा चुरोड पिउनुपर्ने हिसाब-किताब चलचित्र धर्माको युनिटले निकालेको छ ।

को नम्बर वन ?

हुन त कामको आधारमा नम्बर वन हुनुपर्ने हो । मूल्याङ्कन पनि त्यसैको आधारमा भएका काम, त्याग, मिहिनेत अनि निरन्तरताको सही अर्थमा सम्मान गरिएको ठानिन्छ । तर, यहाँ कामको आधारमा नभएर चाकडी र चाप्लुसी अनि सम्बन्धको आधारमा नम्बर वन छँन्न थालियो र यसैलाई मापदण्ड बनाएर ‘नम्बर वन’ भन्न थालियो भने वास्तविक नम्बर वन हुनुपर्ने छायामा पर्छ र कामको साथमा नाम भएन भने प्रतिभा आफैं पलायनको सिकार बन्न पुग्छ ।

यस्तै सिकारमा परेका छन् यतिबेला नेपाली लचचित्रकर्ममा लागेका केही कलाकर्मीहरू । जबजब पुरानो साल जान थालेर नयाँ साल आउन थाल्छ तबतब नेपाली सिनेमा उद्योगमा चाकडी, चाप्लुसी र आपसी सम्बन्धलाई कारण बनाएर नम्बर वनको खेल खेल्न थाल्छन् खेलाडीहरू । गएको साल २०६६ को अन्तिम हप्ता पनि नेपाली सिनेमा बजारमा कसलाई नम्बर वन बनाउने र कसलाई जिरोमा झार्ने भनेर गजवकै खेल खेलियो । ‘यहाँ त म तपाईंलाई नम्बर वन भनिदिन्छु । तपाईं ढुक्क हुनुहोस् र यसलाई सहयोग गर्नुपर्‍यो भन्ने प्रस्ताव पनि आए,’ एक चलचित्रकर्मीको भनाइ थियो ।

यहाँ अचम्मको कुरा के छ भने के-को आधारमा नम्बर वनको घोषणा गर्ने र नम्बर वन बन्ने भन्ने कुरा पनि दोधारमा छ । बढी सिनेमा खेल्नेलाई नम्बर वन भन्ने कि राम्रो काम गर्नेलाई नम्बर वन भने – सबै अनभिज्ञ छन् । स्वघोषित रूपमा घोषणा गर्न खोज्नेहरू आफैंलाई पनि थाहा छैन कि किन नम्बर वन भनियो आफूलाई र भने आफूले ? त्यसैले २०६६ सालको अन्त्यतिर आएर विशेष गरेर नायिकाहरूले कामतिर ध्यान नदिएर नम्बर वनको पगरी कसरी लाउने भन्नेतिर होडबाजी सुरु गरे । त्यसो त नायिकाहरूबीच पनि राम्रो सम्बन्ध नभएकाले आफ्नो डम्फू आफैं बजाउने निकै खप्पीस मानिए यी नायिकाहरू ।