को हुन् रामनाथ कोविन्द ?

को हुन् रामनाथ कोविन्द ?


गणतन्त्र भारतको चौधौं राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोविन्द भारतीय इतिहासमा तल्लो जातबाट राष्ट्रपति निर्वाचित हुने दोस्रो भाग्यशाली व्यक्तित्व हुनुहुन्छ । कुनैबेला कानुन व्यवसायमा समेत संलग्न रहनुभएका ७१ वर्षीय रामनाथ सिमान्तकृत दलित समुदायका नागरिक हुनुहन्छ । राष्ट्रपतिको उम्मेदवारका रूपमा सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) तर्फबाट नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो जो बिहीबार सम्पन्न भएको हो ।

राज्य सरकारका गभर्नर भइसक्नु भएका रामनाथ कोविन्दले विपक्षी गठबन्धनको उम्मेदवार मीरा कुमारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्नुभयो । कोविन्द ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनुभएको छ । सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

संख्यात्मक हिसाबले कोविन्दले ७ लाख २ हजार ४४ मत पाउनुभएको छ भने मीरा कुमारलाई ३ लाख ६७ हजार ३१४ मत मात्र हासिल भएको छ । निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुने छ ।

उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसक्नु भएको छ । कानुनको राम्रो ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गर्नुभएको छ । कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले गरेका छन् । भारतको एक अर्ब ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ ।