व्यापार घाटा नियन्त्रण बाहिर

व्यापार घाटा नियन्त्रण बाहिर


सरकारले आत्मनिर्भरताका लागि जति योजना ल्याएपनि सम्बन्धित निकायबाट कुनै कार्यन्वयन नहुदाँ व्यापार घाटा नियन्त्रण बाहिर पुगेको छ । मुलुकको परनिर्भरतामा वर्षेनी बढ्दै गएकै कारण घाटा नियन्त्रण हुनेभन्दापनि झनझन तीब्रगतिमा बृद्धि हुदै गएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, चालू आर्थिक वर्ष २०७३/०७४ को पहिलो ११ महिनामामात्रै नेपालले झण्डै ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको तथ्याङक सार्वजनिक गरेको छ ।

चालू आवको जेठसम्ममा नेपालले ८ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकबाट आयात गरेको उल्लेख गरेको छ । चालू आवको यो आयात गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हुन पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आयात ६ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ थियो । निकासी केन्द्रको समीक्षा अवधिमा नेपालको निर्यात ६७ अर्ब रुपैयाँको मात्र हुन पुगेको छ । यो निर्यात आयातको तुलनामा १३ गुणाले बढी हुन जान्छ । गत आवमा नेपालले ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालू आवमा उक्त निर्यात ६ प्रतिशतले बृद्धि भएको देखाएको छ ।

चालू आवको समीक्षा अवधिमा नेपालको व्यापार घाटामा थप बृद्धि हुदै गएको भएपनि सम्बन्धित निकायबाट सो बृद्धिलाई नियन्त्रण गर्ने बारे अझै ठोस योजना ल्याइएको छैन । चालू आवमा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो । यो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ३ प्रतिशतले बढी हो । गत आवमा यस्तो व्यापार घाटा ६ खर्ब ३३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ९ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको समान अवधिको तुलनामा चालू आवमा नेपालको वैदेशिक व्यापार २६ प्रतिशतले बृद्धि हुन पुगेको छ । गत आवमा नेपालले ७ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । निर्यात केन्द्रकै तथ्याङक अनुसार, चालू आवमा भारतबाट भएको आयातमै ५ खर्ब ८५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भारतबाट भएको यस्तो आयात ४ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ बराबरको थियो । चालू आवमा भारतबाट भएको आयात ३५ प्रतिशतले बृद्धि हुन पुगेको छ । चालू आवमा नेपालले ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्र वस्तु भारततर्फ निर्यात गरेको छ ।

सोही अवधिमा १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात चीन र १ खर्ब ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको आयात तेस्र्राे मुलुकबाट गरिएको तथ्याङकमा उल्लेख छ । चालू आवमा चीनबाट हुने आयात गत आवको तुलनामा १३ दशमलव १ प्रतिशत र तेस्रो मुलुकबाट हुने आयात २१ दशमलव ४ प्रतिशतले बढेको छ ।
यसरी मुलुकको व्यापार घाटा पछिल्लो दिनमा नियन्त्रण भन्दापनि झन बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को ११ महिनाको मुलुकको समग्रमा व्यापार घाटामा बृद्धि हुदै गएको देखाएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त बिन्दुमा पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १ दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव १ प्रतिशत रहेको थियो । बैंकका अनुसार भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको देखाएको छ । आयाततर्फ सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको तथा अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

कुल वस्तु आयात ३० दशमलव ९ प्रतिशतले बढेर ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ० दशमलव ९ प्रतिशतले घटेको थियो । भारतबाट ३९ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दशमलव ४ प्रतिशतले बढेको छ ।  वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बृद्धि भएको छ । रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०७४ को ११ महिनासम्ममा कुल वस्तु निर्यात १० दशमलव ४ प्रतिशतले वृद्धि भई ६८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो निर्यातमा २० दशमलव १ प्रतिशतले गिरावट आएको थियो । भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलव ७ प्रतिशतले निर्यातमा बृद्धि भएको पनि राष्ट्र बैकले जनाएको छ ।  वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैँचा, अलँैची, तयारी पोशाक, पोलिस्टर धागो, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि अन्य क्षेत्रका तुलनामा कम भएको दाबी राष्ट्र बै.कले गरेको छ । सो बैंकले ११ महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा काठमाडौँ उपत्यमा मूल्यवृद्धि कम भएको दाबी गरेको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा उपभोक्ता मुद्रास्फीति पहाडमा चार, तराईमा ३ दशमलव १, हिमालमा १ दशमलव ८ र काठमाडौँ उपत्यकामा १ दशमलव ४ प्रतिशत रहेको उल्लेख गरको छ । गत वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२, तराईमा ९ दशमलव ५, हिमालमा १० दशमलव २ र काठमाडौँ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।

त्यसैगरी, खाद्य मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक हुन पुगेकोे छ । गत वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११ दशमलव ९ प्रतिशत थियो । दलहन तथा गेडागुडीको मूल्यमा १७ दशमलव ५, तरकारीमा १६ दशमलव ३ र घ्यू तथा तेलको मुल्यमा एक प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैंकले जनाएको छ । चिनी तथा चिनीजन्य पदार्थमा ११ दशमलव ५ र मदिराजन्य पेयपदार्थमा १० दशमलव ८ प्रतिशतले मुल्य वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १० दशमलव ५ प्रतिशत रहेको थियो ।