नितिश–लालु सम्बन्धमा दरार : संकटमा बिहार सरकार

नितिश–लालु सम्बन्धमा दरार : संकटमा बिहार सरकार


भारत, बिहारमा रहेको नितिश कुमार र लालु यादवबीचको बहुचर्चित ‘महागठबन्धन’मा फाटो आएको छ । नरेन्द्र मोदीको लहरलाई रोक्न पछिल्लो पटक भारतीय जनता पार्टी (बिजेपी)सँगको १७ वर्ष लामो सम्बन्धलाई तोड्दै नितिश कुमारले लालू यादव नेतृत्वको आरजेडी र भारतीय कङ्ग्रेससँग ‘महागठबन्धन’ बनाएका थिए ।

तर, पछिल्ल्लोपटक लालू यादव र उनका परिवारका प्रायः सबै सदस्यविरुद्ध भ्रष्टाचार मामिलामा सिआइबीले छानबीन सुरु गर्दै आन्तरिक मुद्दा दायर गरेपछि नितिससँगको सम्बन्धमा कटुता आएको हो । नितिश नेतृत्वको बिहार सरकारमा लालुका माइला छोरा तेजस्वी यादव उपमुख्यमन्त्री छन् भने जेठो छोरा स्वास्थ्यमन्त्री रहेका छन् । मुख्यमन्त्री नितिश कुमारले आफू ‘दागी’ भनिएकाहरूलाई उपमुख्यमन्त्री तथा मन्त्री पदमा राख्न नसक्ने बताइरहेका छन् । तर, लालुले भने तत्काल आफ्ना मन्त्रीहरूले राजीनामा नदिने बताइरहेका छन् ।

यस महागठबन्धनमा यतिसम्मको कटुता आएको छ कि मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीबीच बोलचालसम्म बन्द भएको छ भने उनीहरू एउटै मञ्चमा समेत देखापर्न छाडेका छन् । भारतीय न्यूज नेटर्वक एबिपी न्यूजका अनुसार ‘महागठबन्धन’ नाम दिइएका बिहारको सत्ता गठबन्धनलाई बचाउन आरजेडीले जतिसुकै प्रयास गरेपनि उक्त प्रयास दिनानुदिन असफल बन्दै गएको छ ।

मिडियाहरूमा उल्लेख रिर्पोटका अनुसार लालूले आफ्ना सबै मन्त्री फिर्ता लिने र सरकारलाई समर्थन दिइरहने बताइरहेका छन् भने नितिशले आरोपित भनिएका उपमुख्यमन्त्री र मन्त्रीले मात्र राजीनामा दिनुपर्ने र अरु मन्त्रीको राजीनामाको आवश्यकता नरहेको प्रष्ट्याइरहेका छन् ।

यद्यपि, यो क्रमभङ्गमा भारतीय केन्द्रिय सत्तासीन दल भारतीय जनता पार्टी (बिजेपी) भने मुख्य खेलाडी मानिएको छ । उसले नितिशलाई आवश्यक्ता परे बिजेपीले सर्मथन दिने आश्वासन दिइरहेका छन् भने नितिशजस्तो स्वच्छ ब्यक्ति दागीहरूसँग बस्न नहुने बताइरहेको छ । यता, राष्ट्रपति चुनावमा समेत नितिशले बिजेपीका उम्मेदवारको पक्षमा मतदान गरेपछि नितिश र बिजेपीबीच सम्बन्ध सुमधुुर बनेको अडकलबाजी भारतीय मिडियाहरूले गरेका छन् ।