देउवा सफल नभए देश पनि असफल

देउवा सफल नभए देश पनि असफल


– राजेन्द्रप्रसाद पाठक

नेपालको दलीय इतिहासमा सबैभन्दा पुरानो र हालको सबैभन्दा ठूलो पार्टीका रूपमा दर्ज भएको दल नेपाली काङ्ग्रेस नै हो । सिङ्गो काङ्ग्रेसको नाममा इतिहासका पानाहरू भरिएका छन् । जतिबेला जनताका खातिर बोल्नु र लेख्नु दुवै जघन्य अपराध मानिन्थ्यो । त्यतिबेला समेत क्रान्तिको विगुल फुक्ने साहस गर्नु पनि प्रजातन्त्र र लोकतन्त्रकै खातिर गरिएको साहसिक कार्य हो ।

०७ सालमा गरिएको क्रान्ति र प्रजातन्त्रप्राप्ति पश्चात् पनि जनताका पक्षमा केही कदम अगाडि बढ्न खोज्दा पुरानो परास्त सत्ताले भ्रम फैलाउने र असहयोग गर्ने प्रवृत्तिकै कारण स्व. बीपी बाबुले संविधानसभाद्वारा जनताको संविधान निर्माण गर्ने काङ्ग्रेस पार्टीको एक मात्र र प्रमुख एजेण्डालाई थाती नै राख्नु परेको थियो । त्यसका विभिन्न कारण हुन सक्दछन् ती कारणमध्येबाट अनुमान गर्न सकिने एक–दुई कारणमा संविधानसभाको चुनाव गर्ने पक्रियामा नै धावा बोल्ने अवस्था श्रृजना भएर या त संविधानसभा स्वयम्ले संविधान निर्माण गर्न र त्यसको अक्षरशः लागु गर्न नसकिने परिस्थिति निर्माण भएरै राजासँग मिलेर कामचलाउ संविधान निर्माण गरेको हुनु पर्दछ ।

जेसुकै भएता पनि २०१५ सालमा संसदिय चुनावबाट निर्माण भएको देशकै प्रथम जननिर्वाचित सरकार दुईवर्ष पनि चल्न नपाइकन त्यसमाथि धावा बोलिनाका कारणबाट नै अनुमान लगाउन सकिन्छ कि समय अनुकुल नभएकै कारण सम्झौता गरिएको रहेछ । त्यस्तै विशिष्ट अवस्था आउन सक्ने देखेर नै २०१० सालमा नेपाल तरुणदल गठन गरिएको थियो होला । त्यस संगठन क्याडरवेस संगठन भएकै कारण मास कभर गर्न र शिक्षित युवाहरूलाई समेट्नकै लागि भनेर २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना बीपी बाबुको प्रत्यक्ष निगरानीमा भएको थियो । संयोजक विपिन कोइराला र बाँकी संस्थापक सदस्यहरूमा शेरबहादुर देउवा, स्व. निलमणि शर्मा पाठक, शिवबहादुर खड्का, रामचन्द्र पौडेल, देवेन्द्र नेपाली, रामशरण महत, अर्जुन नरसिंह केसीलगायत थिए ।

यिनै शिक्षित यूवाहरूको योगदानले आजको सिङ्गो पार्टी खडा भएको हो । सोही समयदेखि देउवाको भुमिकामा कुनै पनि कमजोरी देखाउने ठाउँ सायदै कम होला। तात्कालीन पञ्चायत सरकारले दिएको यातनाबाट समेत प्रताडित भएका देउवा नेपाल विद्यार्थी संघको दाश्रो संयोजक पनि हुन् । आज उनै देउवा देशको शीर्ष स्थानमा आसिन छन् । र, पनि पार्टीभित्र हुन नसकिरहेको ऐयबद्धता र एकले अर्कालाई नेता स्वीकार गर्न नसकिरहेको अवस्थामा गुट–उपगुटको राजनैतिक कुसंस्कारका कारण हाल लाकतन्त्रवादीहरु कमजोर जस्ता देखिनु परिरहेको छ ।

नेकाको १३ औं महाधिवेशनले देउवालाई सभापति चयन गरेको हो । कसैका निगाहले उनी सभापति बनेका होइनन् । होनहार संघर्षबाट स्थापित नेता भएकै कारण आज उनलाई सबैले सघाउनु पर्ने तर्क गर्न सकिन्छ । अन्यथा देश र जनताले फेरि पनि लाकतन्त्रकै लागि संघर्ष गर्नु पर्ने दिन नआओस् । त्यसैले इतिहासमा लामो संघर्ष गरेको पार्टी र त्यसका सभापतिमाथि लाग्ने गरेका विभिन्न लाञ्छनाकै कारण देशमा प्रजातन्त्र झन्झ-न् कमजोर हुन सक्ने सम्भावना बढेकै कारण उनलाई सशक्त तुल्याएर मात्र लाकतान्त्रिक व्यवस्था अझ सुदृढ हुन सक्दछ । उनका पनि मानविय कमजोरी होलान् । समय–समयमा रचनात्मक सल्लाह सुझावद्वारा उनैलाई सकारात्मक दिशातिर उन्मुख गराएर मात्र देशको उन्नति सम्भव छ । यति मात्र नभएर काङ्ग्रेसलाई असफल तुल्याउने पर्दापछाडिका खेलहरूलाई समयमै हामीले चिर्न सक्नु पर्दछ । अन्यथा लोकतन्त्र नै धरापमा पर्न बेर लाग्दैन ।