खर्च गर्न पनि सरकार असफल

खर्च गर्न पनि सरकार असफल


काठमाडौं । सरकारले खर्च बढाउन विभिन्न उपाय लिए पनि हालसम्म खर्चको अवस्था निराशाजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार आव २०७१/०७२ मा पुँजीगत खर्च नहुदा ढुकुटीमा ३९ अर्ब रुपैयाँ बचत भएको थियो । गत आव ०७२/०७३ मा १ खर्ब १५ अर्ब रुपैयाँ बचत भएको थियो । ३ वर्षको खर्चको अवस्थालाई हेर्दा बजेटको आकार बढ्ने तर खर्च गर्ने क्षमतामा सुधार आउन सकेको देखिँदैन ।

यसैक्रममा सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा तोकिएको खर्च गर्न असफल भएको छ । अस्थिर सरकारकै कारण विनियोजन गरिएको कुल बजेट खर्चको २१ दशमलव ५२ प्रतिशत खर्च गर्न सकेको छैन । गत आवमा सरकारले कुल विनियोजन भएको बजेटको ७८ दशमलव ४८ प्रतिशतमात्र खर्च गरेको थियो । २१ दशमलव ५२ प्रतिशत खर्च हुन सकेन । बजेट कार्यान्वयन वर्षमै बजेट खर्च कम भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

गत आवमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ खर्च गर्न विस्तारकारी बजेट सार्वजनिक गरेको थियो । सरकारले आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्म कुल बजेटको ८ खर्ब २३ अर्ब २१ करोड २० लाख रुपैयाँमात्र चेक काटेको महालेखाको तथ्याङकमा रहेको छ । २ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन नसकेर बैकमै रहेको छ ।

चालु खर्च ८३ दशमलव ६२ प्रतिशत चालु खर्च भएको छ । गत आवमा सरकारले चालुतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेकोमा असार ३१ सम्म ५ खर्ब १७ अर्ब ७ करोड १७ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालु खर्च मात्र १ खर्ब १ अर्ब बढी रुपैयाँ बचत भएको छ ।

सरकारले पुँजीगत खर्च ६५ दशमलव ४९ प्रतिशत मात्र गरेको छ । गत आवमा सरकारले ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा २ खर्ब ४ अर्ब ३० करोड ३८ लाख रुपैयाँमात्र खर्च भएको छ । पुँजीगत बजेट १ खर्ब ७ अर्ब ६४ करोड २५ लाख रुपैयाँ बचत भएको महालेखाले जनाएको छ ।

त्यसैगरी, वित्तीय व्यवस्थापन (ऋणको सावाँ ब्याज भुक्तानी) तर्फ ८५ दशमलव ८३ प्रतिशत मात्र खर्च भएको छ । गत आवमा सरकारले १ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ वित्तीय व्यवस्थापनमा विनियोजन गरेकोमा १ खर्ब २ अर्ब ८३ करोड रुपैयाँमात्र खर्च भएको छ ।

डलरको तुलनमा नेपाली रुपैयाँ मजवुत भएपछि नेपालले ऋण तिर्ने दायियत्व घटेपछि १६ अर्ब ९८ करोड रुपैयाँ बचत भएको हो । सरकारले चालु आवको १ खर्ब २ अर्ब रुपैयाँ बजेट खर्च नहुने अनुमानका आधारमा चालु आवको बजेटमा विनियोजन गरिसकेको छ । आगामी वर्षका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।