मलेरियाको महामारीले दुई हजारको मृत्यु

मलेरियाको महामारीले दुई हजारको मृत्यु


विश्वकै कान्छो देश भनेर चिनिने दक्षिण सुडानमा मलेरियाको महामारी फैलिएर करिब दुई हजार मानिसको ज्यान गएको छ । ओसिएचए (संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय)ले जनाएअनुसार वितेको ६ महिना अवधिमा मलेरियाकै कारण त्यति धेरै मानिसको ज्यान गएको हो ।

महामारी फैलिएको मुलुकको विस्तृत अनुसन्धानपछि एक प्रतिवेदन जारी गर्दै ओसिएचएले मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएको जानकारी गराएको हो । यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा मलेरियाको नमूना भेटिएको सो प्रतिवेदनमा जनाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी बर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ ।

सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको सङ्ख्या र मलेरियाको कारण मृत्यु हुनेको सङ्ख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको सङ्ख्या ७६.९ प्रतिशत रहेको राष्ट्रसङ्घले जनाएको छ । राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सवैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसङ्को तथ्याङ्क छ ।

अचल पानीमा लामखुट्टेले फुलपार्ने भएकाले मध्य बर्षको बर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्वन्धित सवैमा राष्ट्रसङ्घले आग्रह गरेको हो । मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेको छ ।