एकमोहरे संस्था यसरी बन्यो अर्बपति !

एकमोहरे संस्था यसरी बन्यो अर्बपति !


छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको एक बचत तथा ऋण सहकारी संस्थाको पूँजी अहिले दुई अर्ब ५० करोड पुगेको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर गैँडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाले यही कीर्तिमान कायम गरेको छ ।

प्रगतिको यो कथा २६ वर्षअघिबाट सुरु हुन्छ । वि.सं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै यो अभियान सुरु गरेका थिए । अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकम मात्रै रु. २२ करोड भएको छ भने निक्षेप रु. दुई अर्ब र लगानी पनि रु. दुई अर्ब पुगेको छ । संस्थाको पूँजी मात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यसरी सफलता र प्रगति गर्ने अनृेक पात्रमध्ये एक हुन्– गैँडाकोट नगरपालिका–१४, अमरापुरीका धनपति शर्मा ज्ञवाली ।

ज्ञवालीका दायाँ गुमेका छन् । यसरी मुख्य हात नै गुमाएका ज्ञवाली कतैबाट पनि ऋण नपाएपछि विकू सहकारी पुगेका थिए । ‘हात नभएकालाई कसले ऋण दिन्छ ?’ भन्ने तीखा प्रश्नको घोचाई बढी नै भएपछि उनी गैँडाकोटको उक्त सहकारीमा पुगेका थिए । ०६३ मा उनको एक टुक्रा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । विकलाङ्ग भए पनि साहस लिएर विकू सहकारी पुगेका उनले कुखुरापालनका लागि सहजै रु. दुई लाख ऋण पाए । आज त ज्ञवालीसँग करोडौँको सम्पत्ति छ । यसको श्रेय भने विकू सहकारीलाई नै जान्छ ।

‘यतिबेला मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री ग¥यो भने रु. दुई करोड आउँछ, अरू ठाउँमा पनि केही घडेरी छ, बिक्री गर्दा रु. ५० लाख आउला । यो सबै सम्पत्ति आर्जन गर्न मलाई विकू सहकारीले नै साथ दिएको हो’– ज्ञवालीको कथन छ ।

अब जाऔँ विकू सहकारी शुभारम्भको कथातिर । धेरै युवालाई करोडपति बनाएको विकू सहकारीको सुरुवात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० सालमा जिल्ला सहकारी कार्यालय, नवलपरासीमा दर्ता भएको थियो ।

यस अभियानमा जुट्ने युवा ०३६ सालबाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरूलाई विजय युवा क्लबले संस्थागत बनाएको हो । शुरुमा विजय युवा क्लब पुस्तकालयका रूपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रूपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताए । उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले विकूजस्तै छवटा संस्था जन्माएको छ ।

विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्राण्ड प्राप्त गरिसकेको पौडेलले बताए ।

सहकारी भएपनि सो संस्थाले एसएमएस बैंकिङ मात्र नभई एटिएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३ सय ६५ दिन नै बंैकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युत्को बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ ।

विजय विकासका अध्यक्ष एवं विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्छन्– ‘सुरु–सुरुमा ५० पैसाले विकास गर्छाैं भन्ने एकमोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर हामी निराश भएनौँ, अभियान जारी राख्यौँ । हामीले भन्दै गयौँ – एक कप चिया घटाउनुहोस् हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पु¥याउँछौँ ।’

विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले विकूसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रालि र विजय फाउण्डेशन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रूपान्तरणको काम गर्दै आएको छ । विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवद्र्धन गरेका संस्था स्वायत्त रूपमा सञ्चालनमा छन् ।