खेलकुदप्रति सरकारको सोच सकारात्मक हुनु जरुरी छ :प्रकाशशमशेर राणा

खेलकुदप्रति सरकारको सोच सकारात्मक हुनु जरुरी छ :प्रकाशशमशेर राणा


-श्रीविक्रम भण्डारी
पृष्ठभूमि नै खेलकुद भएपछि खेलकुदमा लगाव बढ्नु स्वाभाविकै थियो । अझ नेपाली खेलकुदमा भीष्म पीतामहले चिनिने नरशमशेर राणाको छोरा हुनुले सुनमा सुगन्ध थपिएका थियो । बुबाको मार्गदर्शनसँगै मौलाएको खेल भावनाले अन्त्यमा उहाँलाई मार्शल आर्टस्को चर्चित खेलाडी बनाउन पुग्यो । त्यसबेला मुलुकमा मार्शल आर्टस् प्रतिबन्धित भए पनि काठमाडौं र दार्जिलिङमा लुकी-लुकी सिक्ने अवसर पाउनुभएको थियो । मार्शल आर्टस्को क्योकिसिन करातेप्रति अगाध रुचि राख्ने उहाँले अन्त्यमा बेलायत गएर ब्ल्याकबेल्ट हासिल गर्नुभएको थियो । यसरी नेपालमा खेलिने थुप्रै खेलहरूसँग आफ्नो नाता जोडिसकेका र मार्शल आर्टस्कै विधा तेक्वान्दोको विकासमा विगत दर्ुइ दसकदेखि अनवरत रूपमा लागिरहनुभएका प्रकाशशमशेर राणासँग घटना र विचार राष्ट्रिय साप्ताहिकका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी
० मुलुकलाई सबैभन्दा बढी र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पदक दिलाउन सफल तेक्वान्दो खेलका बारेमा तपाईंको धारणा के छ –
– सर्वप्रथम तेक्वान्दो मुलुकको सर्वश्रेष्ठ खेल हो । यो खेलका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट र एद्देतिहासिक प्रदर्शन गरेर मुलुकको प्रतिष्ठा बढाइसकेका छन् । तर्सथ यो खेललाई सम्बन्धित निकायले अन्तर्राष्ट्रिय पदक जित्ने खेलको रूपमा मूल्याङ्कन गरी विशेष स्थानमा राखिदिएमा तेक्वान्दोले अझ सफलता प्राप्त गर्ने मेरोे विश्वास छ ।
० यो खेलका खेलाडीहरूले ओलम्पिकमा समेत प्रतिस्पर्धा गरिसकेका छन्, उनीहरूको अनुभवलाई सङ्घले कसरी आत्मसात् गरेको छ –
– ओलम्पिक खेलेका खेलाडीहरूको भावनालाई कदर गर्दै सङ्घले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा राम्रो परिणाम ल्याउन समयमै स्वदेशी र विदेशी प्रशिक्षकहरूबाट प्रशिक्षण गराउँदै आएको छ । वर्तमान अवस्थामा पनि कोरियन प्रशिक्षकद्वारा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।
० एसियाली खेलकुद प्रतियोगितामा रजत पदकसमेत जित्न सफल तेक्वान्दोले त्यसपछि अपेक्षाअनुरूप खरो नउत्रिनुमा के भन्नुहुन्छ –
– यो विषयमा खेलकुदका जिम्मेवार निकायहरूले जस्तो पहल गर्नुपथ्र्यो त्यस्तो गरेको मैले पाइनँ । उदाहरणका लागि अफगानिस्तानले चालेको कदमलाई लिन सकिन्छ । अफगानिस्तानले एघारौँ साग सकिएको दोस्रो दिनदेखि नै आफ्ना खेलाडीलाई एसियन गेमको तयारीका लागि बन्द प्रशिक्षणमा राखेको छ । तर, विडम्बना, एसियन गेम सञ्चालन हुन तीन महिना मात्र बाँकी रहँदा पनि बजेटको कारणले गर्दा हामीले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न पाएका छैनौँ ।
० दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै आएको तेक्वान्दोको प्रभाव क्रमिक रूपमा घट्नुलाई कसरी हर्ेर्नुभएको छ –
– यो सबै सम्बन्धित निकायको चरम लापरबाहीको परिणाम हो । खेलको महत्त्व नबुझ्दा र प्रशिक्षणको कमीले गर्दा यस्तो नतिजा आएको हो । नेपालका खेलाडी अहिले पनि उत्कृष्ट छन् तर उनीहरूलाई अझ उत्कृष्ट पार्ने काममा राखेप मौन छ । यस्तो दयनीय अवस्थामा पनि खेलाडीहरूले जुन किसिमको प्रदर्शन गरेका छन् त्यो गौरव गर्न लायक छ ।
० सागमा चौध स्वर्ण पदक जितेको तेक्वान्दो अहिले दर्ुइ स्वर्णमा सीमित रहनुमा खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू कसलाई दोषी देख्नुहुन्छ –
– यो सबै राखेपको बृहत् राष्ट्रिय खेलकुद नीतिको अभावका कारणले भएको हो । यस्तो नतिजा आएपछि सङ्घ पनि गम्भीर बनेको छ । तर्सथ सङ्घले खेलाडीहरूको वृत्ति-विकासका लागि केही समयपछि नयाँ कार्यक्रम ल्याउँदै छ । जुन तेक्वान्दो खेलाडीका लागि बरदान सावित हुने मैले विश्वास लिएको छु । जहाँसम्म दोषीको कुरा छ, यसमा खेलाडी, प्रशिक्षक र पदाधिकारीको कमजोरीभन्दा पनि आपसी तालमेल र समन्वयको अभाव हो ।
० यस्तो प्रदर्शन रहे भोलि शून्यको स्थिति पनि आउन सक्छ, यसको समाधानका लागि कुनै जुक्ति निकाल्नुभएको छ –
– यसको समाधानका लागि हामीले विभिन्न उपाय अवलम्बन गरेका छौँ । जसअर्न्तर्गत नयाँ युवा खेलाडीलाई अगाडि ल्याउने कार्यक्रम प्रमुख रहेको छ । सोहीअनुरूप आउँदो एसियाडमा नयाँ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
० अझै पनि नेपाली खेलकुदमा तेक्वान्दोलाई नम्बर एक खेल भन्छन्, एघारौँ सागपछि त यसमा प्रश्नचिह्न लागेको छ, के भन्नुहुन्छ –
– तेक्वान्दो हिजो पनि नम्बर एक थियो, आज पनि छ र भविष्यमा पनि रहने कुरामा म ढुक्क छु । जहाँसम्म एघारौँ सागको कुरा छ, त्यहाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि भाग्यले साथ नदिँदा यस्तो परिणाम आएको हो ।
० अरू मार्शल आर्टस्का खेलहरूले सुधारिएको प्रदर्शन गरिरहेको अवस्थामा तेक्वान्दो अधोगतिमा लाग्नुको कारण के होला –
– स्वर्ण पदकको आशा गरेका खेलाडीले निराशाजनक प्रदर्शन गर्दा यस्तो देखिएको मात्रै होे, तर वास्तविकता भने त्यस्तो छैन । तेक्वान्दो अहिले पनि आफ्नो स्थानमा अटल छ, अधोगतितर्फ लागेको मलाई लाग्दैन ।
० निकट भविष्यमै चीनको गोन्झाउमा आयोजना हुन गइरहेको एसियाली खेलकुद प्रतियोगिताका लागि तेक्वान्दाको तयारी कस्तो छ –
– गोन्झाउ एसियाडको तयारीका लागि सङ्घले ६ महिनाअघि कार्यक्रम बनाएको थियो । तर, आजका मितिसम्म कहाँ ट्रेनिङ गर्ने र विदेशी प्रशिक्षक झिकाउने भन्ने सम्बन्धमा टुङ्गो लागेको छैन । सम्बन्धित निकायबाट निर्णय हुन नसकेको अवस्था छ । फाइनल चरणको छनोट भदौ ११ गते हुँदै छ । त्यसपछि ६ जना पुरुष र ६ जना महिला खेलाडीलाई छनोट गरी बन्द प्रशिक्षणमा राख्ने सङ्घको कार्यक्रम रहेको छ । कम समयको सदुपयोग गर्दै सङ्घले कोरियाली प्रशिक्षकलाई समेत फाइनल चरणसम्मका लागि व्यवस्था गरेको छ ।
० एसियाडमा तेक्वान्दोले रजत पदक जितेर ऐतिहासिक कीर्तिमान बनाइसकेको छ, यसपटक कस्तो आशा गर्नुभएको छ –
– एसियाडको तयारीका लागि सङ्घले राखेपसँग करिब ७२ लाखको बजेट मागेको थियो । त्यसमा स्वदेशी र विदेशी प्रशिक्षण सामेल थिए । दुर्भाग्य, अहिलेसम्म एक पैसा प्राप्त भएको छैन । यस्तो अवस्थामा यो नै पदक जित्छ भन्दा अलि नमिल्ला । मलाई विश्वास छ- नेपाली टोली पदकविहीन भएर स्वदेश र्फकंदैन ।
० तेक्वान्दोका र्सवाधिक सफल खेलाडी तथा एसियाडमा लगातार दर्ुइ कास्य पदक जित्ने दीपक विष्टको गोन्झाउ एसियाडमा सहभागिता छैन, कस्तो महसुस गर्नुभएको छ –
– दीपकले अहिलेसम्म एसियाडमा खेल्ने-नखेल्ने भन्नेबारेमा सङ्घलाई आधिकारिक जानकारी नदिए पनि सञ्चारमाध्यममार्फत नखेल्ने भन्ने अभिव्यक्ति दिएको पाइएको छ । यदि दीपकले खेल्न नसक्ने अवस्थाको सिर्जना भयो भने त्यो सङ्घका लागि मात्रै नभएर राष्ट्रकै लागि ठूलो क्षति हुनेछ ।
० एसियाडमा निरन्तर पदक जित्दै आएको तेक्वान्दोले यसपटक कस्तो प्रदर्शन गर्ला, पदक जित्ने सम्भावना कस्तो देख्नुहुन्छ –
– एसियाडमा तेक्वान्दो खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म ढुक्क छु । खेलाडीले एसियाडमा पदकको निरन्तरतालाई कायमै राख्दै नेपाललाई पदक दिलाउने छन् । मुलुकको मान, सम्मान र प्रतिष्ठालाई उचो पार्नेछन् ।
० सरकारले बजेट ढिला दिएका कारणले खेलाडीको प्रशिक्षण सोचेअनुरूपको नभएको चर्चा छ, यसबारेमा तपाईंको राय के छ –
– यो कुरा एकदमै सत्य हो । सरकारले बजेट समयमा नदिएको र ढिला दिएकै कारणले खेलाडीको तयारीमा निकै प्रभाव परेको छ । एसियाली खेलकुदजस्तो महत्त्वपूर्ण प्रतियोगितालाई सरकारले प्राथमिकता नदिनु अहिले सम्पूर्ण खेलाडी र पदाधिकारीका लागि सोचनीय कुरो भएको छ । २१औं शताब्दीमा पनि खेलकुदप्रति सरकारको सोच सकारात्मक नहुनु विडम्बनाको विषय हो ।
० खेलाडीको प्रशिक्षण समयमै शुभारम्भ नहुनुमा तपार्इं सरकार र राखेपमध्ये कसलाई दोषी ठान्नुहुन्छ –
– खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् भएकोले सम्पूर्ण तयारीको जिम्मेवारी राखेपको हो । सर्वोच्च निकायले जस्तोसुकै अवस्थामा पनि उचित व्यवस्थापन गर्नुपर्ने थियो तर त्यस्तो भएन । बजेटको कारण देखाउँदै राखेप पन्छिएर बस्न मिल्दैन । यहाँ राखेपको कमजोरी भएकै हो ।
० राखेपले तेक्वान्दोका खेलाडीलाई प्रशिक्षणका लागि कोरिया पठाउने भनेको थियोे, त्यसबारेमा के भइरहेको छ –
– सरकारले बजेट नदिएको भन्दै राखेपले यसबारेमा कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन ।
० यतिबेला खेलकुदमा कुनै पनि खेलले एसियाडमा पदक नजित्ने हल्ला चलेको छ, यसमा कत्तिको सत्यता छ –
– एसियाडको तयारीको गतिलाई हेर्दा यो कुरामा केही सत्यता अवश्य छ । कछुवाको चालमा भइरहेको तयारीलाई मध्यनजर गर्ने हो भने जोकोहीले पनि यस्तो कुरा गर्नु स्वाभाविकै हो । जहाँसम्म तेक्वान्दो कुरा छ, एसियाडमा तेक्वान्दोले मुलुकलाई पदक दिलाउने कुरामा म विश्वस्त छु ।
० अनुशासनको उत्कृष्ट नमुना प्रदर्शन गर्दै आएको तेक्वान्दोमा यसपटक अनुशासनहीनता देखियो, यसको कारण के होला –
– तेक्वान्दोमा मात्रै नभई समस्त खेलकुदमा अनुशासन खस्किँदै गएको सबैले महसुस गरेकै कुरा हो । आपसी समन्वयको कमीले गर्दा केही समय पहिले अनुशासनसम्बन्धी विवाद पक्कै उठेको हो । अहिले सबै कुरा साम्य भइसकेको छ । तेक्वान्दो सङ्घ सम्पूर्ण खेलाडी, पदाधिकारी र तेक्वान्दोकर्मीहरूसमेत अनुशासनमा रहनुपर्छ भन्ने मान्यतामा अडिग छ । हिजोको कुरालाई दोहोरिन दिने छैनौं ।
० अहिले तेक्वान्दो सम्बन्ध नेपाल ओलम्पिक कमिटीसँग पनि चिसिएको छ, यसलाई कसरी लिनुभएको छ –
– केही कुराको असमझदारीले गर्दा एनओसीसँगको सम्बन्धमा चिसोपन आए पनि अहिले सहमति भइसकेको हुँदा त्यस्तो अवस्था छैन । एनओसीसँग हिजोजस्तो सुमधुर सम्बन्ध थियो अहिले त्यस्तै भइसकेको छ । सबै कुरा सहमति र सहकार्यबाट भइरहेको छ ।
० अन्त्यमा तेक्वान्दोको भविष्य कस्तो देख्नुभएको छ, खेलाडी र खेलप्रेमीलाई के भन्न चाहनुहुन्छ –
– नेपाली खेलकुदमा तेक्वान्दोको भविष्य एकदमै उज्ज्वल छ । यो खेलले आफ्नो स्थापनाकालदेखि नै अन्तराष्ट्रमा मुलुकको प्रतिष्ठा बढाउँदै आएको छ । भविष्यमा पनि बढाउने कुरामा म विश्वस्त छु । यो एकदमै अनुशासित खेल भएकोले जसरी पहिले माया गरेर हर्ेर्नुहुन्थ्यो त्यसरी नै हेर्न र खेल्न आउनका लागि अनुरोध गर्दछु । तेक्वान्दोेको वर्तमान नेतृत्व मैले गरे पनि तेक्वान्दोलाई मुलुककै सर्वोत्कृष्ट खेल बनाउन सबैको सहयोग, सहकार्य र शुभेच्छाको अपेक्षा गर्दछु ।

फेरि तुहियो नेपालको सपना
हालै इटालीमा सम्पन्न भएको आईसीसी विश्व क्रिकेट डिभिजन चार प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्दै डिभिजन तीनमा उक्लिन असफल भएको छ । नेपाललगायत अमेरिका, इटाली, अर्जेन्टिना तान्जेनिया र केम्यानदीप गरी ६ राष्ट्रले उक्त प्रतियोगितामा प्रतियोगितामा सहभागिता जनाएका थिए । राउण्डरोविनका आधारमा खेलाएको उक्त प्रतियोगितामा नेपालले तीन खेलमा विजय हासिल गरे पनि तेस्रो डिभिजनमा भने उक्लन सकेन । नेपालले यो प्रतियोगितामा आयोजक इटाली, अर्जेन्टिना र केम्यानदीपलाई पराजित गरेको थियो भने अमेरिका र तान्जेनियासँग पराजित भएको थियो । कमजोर तान्जेनियासँग भोगेको पराजय नेपालका लागि निकै भारी पर्‍यो । फलस्वरूप सन् २०१५ मा विश्वकप खेल्ने नेपालको सपना तुहिएको छ । डिभिजन चारमा अमेरिकाले प्रथम र इटालीले दोस्रो स्थान हासिल गर्दै डिभिजन तीनमा प्रवेश गरेका छन् । अब सन् २०११ म्ाा हङकङमा हुने डिभिजन तीनको भिडन्तमा पपुवान्युगिनी, डेनमार्क, ओमान र आयोजक हङकङसँगै अमेरिका र इटालीले सहभागिता जनाउने छन् ।

सञ्जु र अनुराधा विश्वच्याम्पियनसिपमा
क्यारेबियन राष्ट्र बार्बाडोसमा आगामी सेप्टेम्बर ६ देखि १९ तारिखसम्म सञ्चालन हुने छैटांै विश्वच्याम्पियनसिपमा पहिलोपटक नेपालका दर्ुइ महिलाले सहभागिता जनाउने भएका छन् । यो प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ आइबाले पाँच महादेशका ४० जना खेलाडीलाई छनोट गरेको थियो । एसियाली मुलुकबाट १३ जना खेलाडी छनोेट भएकामा सञ्जु लामा र अनुराधा लामा छनोटमा परेका थिए । यी खेलाडीलाई आइबाले १५ दिनको विशेष प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराउने कार्यक्रम रहेको छ । उक्त विशेष प्रशिक्षणमा सहभागी हुन र प्रतियोगितामा भाग लिन हालै दुवै खेलाडी त्यसतर्फ लागेका छन् । उक्त प्रतियोगितामा सञ्जुले ५१ केजी र अनुराधाले ६० केजी तौलमा प्रतिस्पर्धा गर्नेछन् । १६औं एसियाली खेलकुदका लागि छनोट भइसकेका यी दुवै खेलाडीले यो प्रतियोगिताले एसियाडको तयारीलाई सकारात्मक प्रभाव पार्ने बताए । उनीहरूले विश्वच्याम्पियनसिपमा पदक जित्नु धेरै टाढाको कुरा भएको बताउँदै छनोट हुनु नै ठूलो कुरा भएको बताए । नेपालका अनुभवी खेलाडीको रूपमा रहेका सञ्जु र अनुराधाले यसअघि एसियन महिला च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

पोखरामा महिला भलिबल
त्यसै त रमाइलो पोखरामा आउँदो महिना महिला भलिबल खेलाडीले आफ्नो प्रतिभा देखाउने भएका छन् । कास्की जिल्ला भलिबल सङ्घले अगामी महिना पोखरामा प्रथम आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । लिग कम नकआउटका आधारमा खेलाइने यो प्रतियोगिता असोज १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा स्थानीय चार विद्यालयसहित आठ टिमको सहभागिता रहने अध्यक्ष अनील सिंहले बताए । यो प्रतियोगितामा ज्ञानुबाबा उमावि, फिस्टेल एकेडेमी, टप्स उमावि, ढोरपाटन उमावि, नेपाल पुलिस क्लब, न्यु डाइमण्ड, एन्जल्स हर्ट र सहिद मजदुर स्मृति क्लबको सहभागिता रहनेछ । उक्त प्रतियोगिताको बारेमा जानकारी दिँदै अध्यक्ष सिंहले महिला भलिबल खेलाडीलाई प्रोत्साहन गर्न र नयाँ प्रतिभाको प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिन लागेको बताए । प्रतियोगितामा विजय हुने टिमले ७५ हजार, द्वितीय र तृतीय हुनेले क्रमशः ५० र २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार र अन्य पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही पाँच,-पाँच हजार प्रदान गरिने आयोजक समितिले बताएको छ ।

सोतोकान प्राविधिक कमिटी पुनर्गठन
गत साता नेपाल सोतोकान कराँते सङ्घको केन्द्रीय प्राविधिक कमिटीको पर्ुनर्गठन भएको छ । सोतोकान कराते सङ्घको हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । सो समितिको संयोजक तथा प्रमुख प्रशिक्षकमा सङ्घका अध्यक्ष हेमकुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै उपसंयोजकमा सत्य मानन्धर र निर्मल तामाङ रहनुभएको छ भने सचिवमा यमुना श्रेष्ठ र सहसचिवमा अजित श्रेष्ठ रहनुभएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रुविकुमार राणा र रवीन्द्र महर्जन रहनुभएको छ ।
त्यस्तै प्राविधिक समितिका सदस्यहरूमा रामशरण श्रेष्ठ, डावा लामा, समीर नकर्मी, अर्जुन कार्की, कृष्णकुमारी बस्नेत, शर्मिला खड्का, दीपा गिरी, रोशनी सेन्चुरी, कविरस शर्मा, कमल कार्की, मन लामा, दिपेश मानन्धर, रविन ठकुरी, भोला सुनुवार रहनुभएको छ ।