पछि हटे ट्रम्प !

पछि हटे ट्रम्प !


अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा भएको साईबर ह्याकिङ सम्बन्धमा छानविनका लागि साईबर सुरक्षा युनिट गठन गर्न रुससँग सहकार्य गर्ने निर्णयबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हट्नुभएको छ । ट्रम्पले ट्वीटरमार्फत रुसी राष्ट्रपति पुटिनसँग यस बिषयमा छलफल भएपनि त्यो कार्यान्वयन सम्भव नहुने बताउनुभएको हो । रुससँग सहकार्य गर्ने विषयमा अमेरिकी रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरुले पनि असहमति जनाएका थिए । संयुक्त युनिट खडा गर्ने प्रस्ताव हास्यास्पद रहेको टिप्पणी डेमोक्रेटिक पार्टीले समेत गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ । जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उहाँहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।

सो वार्ताका क्रममा उहाँहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो । तर सो विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्नुभएको थियो । उहाँले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उहाँहरुबीच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी सोमबार दिनुभएको थियो ।

यो भेटमा दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग जानुभएको थियो । सो सम्मेलनपछि उहाँहरुबीच भेटवार्ता भएको थियो ।

रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन ।

यसैगरी उहाँहरुबीच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो ।

राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताउनुभएको थियो सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् ।